शान्ति बजारमा खानेपानीको समस्या समाधान हुँदै

शान्ति बजारमा खानेपानीको समस्या समाधान हुँदै

दैलेख : जिल्लाको दुल्लु नगरपालिका–४ शान्ति बजारका स्थानीयले बर्षौदेखि भोग्दै आएको खानेपानीको समस्या समाधान हुने भएको छ । शान्ति बजारबासीलाई खानेपानी अभावका कारण विभिन्न समस्याले सताउने गरेको थियो । अहिले घर–घरमा धारा जडान गरेर खानेपानीको सुविधा पुर्याउने गरी योजना सञ्चालन भएपछि खानेपानीको समस्या समाधान हुनेमा स्थानीय ढुक्क छन् । यहाँका स्थानीयलाई खानेपानीको जोहो गर्न एकदेखि दुई घण्टा समय लाग्ने गरेको थियो ।

सोलार लिफ्ट प्रविधि मार्फत शान्ति बजारमा खानेपानीको सुविधा पुर्याउन लागिएको हो । खानेपानी सुविधा पुर्याउनका लागि हेल्भेटास नेपाल/एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम र दुल्लु नगरपालिकाको साझेदारी तथा सोसेक नेपालको प्राविधिक तथा सामाजिक सहजिकरणमा शान्ति बजार सोलार लिफ्न खानेपानी तथा सरसफाई योजना सञ्चालित छ । निर्माणाधिन अवस्थामा रहेको उक्त योजनाको लागत ४७ लाख रुपैयाँ रहेको एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रमका फिल्ड संयोजक महेन्द्र अधिकारीले जानकारी दिए ।

उक्त योजनाबाट शान्ति बजारका ५४ घरधुरीमा खानेपानी सुविधा पुग्नेछ । उक्त योजना अन्तरगर्त दुई वटा इन्टेक, एक वटा पानी संकलन केन्द्र, एक वटा फिल्टर र दुई वटा ट्यांकी निर्माण भएको फिल्ड संयोजक अधिकारीले जानकारी दिए । कालिरह र पानीखोला मुहानबाट शान्ति बजारमा सोलार लिफ्ट प्रविधि मार्फत खानेपानीको सुविधा पुर्याउन लागिएको अधिकारीले बताए । निर्माणाधिन अवस्थामा रहेको उक्त योजना निर्माणको अन्तिम चरणमा रहेको शान्ति बजार सोलार लिफ्न खानेपानी तथा सरसफाई योजना समितिका अध्यक्ष मणिराम खनालले बताए । खनालले योजना सम्पन्न भएसँगै स्थानीयले बर्षौदेखि खानेपानीको लागि भोग्दै आएको समस्या समाधान हुने बताए ।

प्रतिक्रिया