खानेपानी समस्या समाधान

खानेपानी समस्या समाधान

चौखोडा गाउँका ५० घरधुरीमा खानेपानीको सुविधा, विद्यालय र स्वास्थ्य चौकीमा पनि खानेपानीका धारा जडान

दैलेख : जिल्लाको डुङ्गेश्वर गाउँपालिका–३ चौखोडा गाउँमा खानेपानीको समस्या समाधान भएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको अगुवाईमा खानेपानी योजना निर्माण भएपछि चौखोडा गाउँको खानेपानी समस्या समाधान भएको हो । हेल्भेटास नेपाल÷एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम र डुङ्गेश्वर गाउँपालिकाको साझेदारी तथा सोसेक नेपालको प्राविधिक तथा सामाजिक सहजिकरणमा चौखोडा गाउँमा खानेपानी सुविधा पुगेको हो ।

योजनाको कुल लागत ३५ लाख एक हजार ८ सय रुपैयाँ रहेको एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रमका फिल्ड प्राविधिक जयबहादुर विष्टले जानकारी दिए । अघिल्लो आर्थिक बर्ष २०७७/०७८ मा निर्माण सम्पन्न चौखोडा खानेपानी तथा सरसफाई योजनाबाट गाउँका ५० घरधुरीमा खानेपानीको सुविधा पुगेको छ ।

फिल्ड प्राविधिक विष्टका अनुसार ५० घरधुरीका लागि घरैपिच्छे खानेपानीको धारा जडान भएको छ । यस्तै गाउँमा रहेको स्वास्थ्य चौकीमा एक वटा र विद्यालयमा तीन वटा धारा जडान गरिएको विष्टले जानकारी दिए । गोगनखोला मुहानबाट गाउँमा पानी ल्याईएको हो ।

खानेपानी योजना निर्माण हुनुअघि चौखोडा गाउँका स्थानीयले खानेपानीको समस्या झेल्दै आएका थिए । अव्यवस्थित रुपमा पाइपलाइन मार्फत गाउँमा खानेपानीको जोहो गरिएको थियो । उक्त पाइप लाइनमा पानी नआएको खण्डमा स्थानीयबासी कुवाको पानीको भर पर्नुपर्ने बाध्यता थियो । खानेपानी योजना समितिका अध्यक्ष जयप्रकाश मल्लले योजना निर्माण सम्पन्न भएपछि गाउँमा खानेपानीको समस्या समाधान भएको बताए ।

प्रतिक्रिया