राउटेले भने ‘हामीलाई खाद्यान्न देऊ’

राउटेले भने ‘हामीलाई खाद्यान्न देऊ’

सिम्ता गाउँपालिकाका अध्यक्षले भने ‘खाद्यान्न उपलब्ध गराउ पहल गर्छौ’

सुर्खेत : राउटे नागरिकहरुले खाद्यान्न अभाव रहेको बताएका छन् । बिहीवार राउटे नागरिकको समस्या बुझन् बस्तीमा पुगेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य सीता कुमारी राना, सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका अध्यक्ष हीरासिंह थापासहितको टोलीसँग उनिहरुले बस्तीमा खाद्यान्न अभाव रहेको बताएका हुन् ।

राउटे मुखिया सुर्यनारायण शाही लगाएत समुदायका नागरिहरुले सोसेक नेपालका सल्लाहकार समिति संयोजक एवं नेपाली काँग्रेस केन्द्रीय सदस्य राना र सोसेकका अध्यक्ष थापासँग समुदायमा खाद्यान्न अभाव भएको सुनाउँदै चामल उपलब्ध गराईदिन समेत आग्रह गरे । राउटे नागरिकहरु हाल सुर्खेतको सिम्ता गाउँपालिका–३ बाखर्कमा बसोबास गर्दै आएका छन् । राउटे बस्तीमा ४१ परिवारमा एक सय ४४ जना जनसंख्या छ ।

यता सिम्ता गाउँपालिकाका अध्यक्ष कबिन्द्र कुमार केसीले राउटे नागरिकहरुलाई खाद्यान्न उपलब्ध गराउन पहल गर्ने बताएका छन् । राउटे समुदायको पुगेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य सीता कुमारी राना, सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका अध्यक्ष हीरासिंह थापा र गाउँपालिकाका अध्यक्ष केसीबीच भेटघाट समेत भएको थियो । भेटघाटका क्रममा अध्यक्ष केसीले राउटे समुदायका नागरिकहरुलाई खाद्यान्न उपलब्ध गराउन पहल गर्ने बताएका हुन् ।

राउटे नागरिकहरुको सामाजिकीकरणका लागि सोसेक नेपालमार्फत राउटे परियोजना सञ्चालित छ । एईआएन लक्जेम्वर्गको आर्थिक सहयोगमा सोसेक मार्फत सञ्चालित परियोजना अन्तरगर्त तीन जना कर्मचारी समुदायमै खटिएका छन् । परियोजना मार्फत दुई जना जोडी शिक्षक र एक जना स्वाथ्यकर्मी (अहेव) बस्तीमा खटिएका छन् ।

राउटे जाती मानव सभ्यताको ईतिहास बोकेको समुदाय हो । त्यतिमात्र होइन दक्षिण एसियाको एकमात्र अन्तिम भ्रमणशिल समुदाय हो । लोपोन्मुख मध्येको पनि अति लोपोन्मुख जाती राउटे कर्णालीमा घुमन्ते जीवनयापन गरिरहेका छन् । नेपाल सरकारले राउटे नागरिकलाई २०६३ बाट सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आईरहेको छ । २०७५ असार ३० गते दैलेखको गुराँस गाउँपालिकाबाट परिचय पत्र प्राप्त गरेका राउटे नागरिकलाई कर्णाली प्रदेश सरकारले मासिक २ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिन सुरु गरिसकेको छ ।

मुख्यतया कर्णालीको दैलेख, सुर्खेत, सल्यान, जाजरकोट र दाङ जिल्लाको जंगलहरुमा फिरन्ते जीवनयापन गर्दै आएको राउटे जातीमा रास्कोटी, कल्याल र सोमबंशी गरी तीन थर रहेको छन् । काठबाट कोसी, मुधुस, आरी बनाएर बेच्ने अर्थात् अनाजसँग साटेर आफ्नो गुजारा चलाउने गर्दछन् । कन्दमूल, गुना–बादरको मासु उनीहरुलाई विशेष मनपर्छ । आफ्नै परम्परागत रितीरिजाव, जीवनशैली, धर्मसंस्कार अंगाल्दै आएको यो जाति नेपालको संकटासन्न जातिमा पर्दछ ।

प्रतिक्रिया