जहाँ शैक्षिक सामग्री लिएर विद्यालय पुग्छन् अभिभावक

जहाँ शैक्षिक सामग्री लिएर विद्यालय पुग्छन् अभिभावक

दैलेख : गुराँस गाउँपालिका–८ का भक्तबहादुर खत्री शैक्षिक सामग्री लिएर विद्यालय पुग्छन् । उनले स्थानीय रुपमा पाइने स्रोत सामग्रीलाई प्रयोग गरेर शैक्षिक सामग्री बनाउँछन् अनी विद्यालयमा पु¥याउँछन् । खत्री जस्तै सोहि ठाउँका चन्द्रा ओलीले पनि घरमा स्थानीय स्रोत साधन प्रयोग गरेर निर्माण गरिएको शैक्षिक सामग्री लिएर विद्यालय पुग्ने गरेकी छिन् ।

खत्री र ओली जस्तै यहाँको जनसहयोग आधारभूत विद्यालयका अभिभावकहरुले स्थानीय स्थरमा पाइने स्रोत र साधन प्रयोग गरेर निर्माण गरेको शैक्षिक सामग्री लिएर विद्यालयमा पु¥याउने गरेका छन् । यस अघि सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजना र विद्यालयको अगुवाईमा भएको शिक्षक अभिभावकबीचको छलफलमा अभिभावकहरुले विद्यालयका लागि शैक्षिक सामग्री निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए ।

गुराँस गाउँपालिकाको नमूना विद्यालयको रुपमा रहेको उक्त विद्यालयका प्रधानाध्यापक भरत कुमार ओलीले अभिभावकहरुले स्थानीय स्रोत साधन प्रयोग गरेर निर्माण गरेको शैक्षिक सामग्री लिएर विद्यालयमा उपलब्ध गराउने गरेको बताए । यसले शिक्षक, विद्यार्थी र अभिभावकबीचको त्रिपक्षिय सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रधानाध्यापक ओलीको भनाई छ । उनले अभिभावकले डोको, डालो, हलो, जुवा, कुटो, कोदालो लगाएतका सामग्री निर्माण गरेर विद्यालयलाई उपलब्ध गराउने गरेको बताए ।

अभिभावकले विद्यालयलाई उपलब्ध गराएको शैक्षिक सामग्रीले स्थानीय पाठ्यक्रममा आधारित पठन पाठनमा सहयोग पुगेको प्रधानाध्यापक ओली बताउँछन् । ‘हामीले स्थानीय शैक्षिक सामग्री निर्माण गरेर विद्यालयलाई उपलब्ध गराउने अभिभावकलाई सम्मान समेत गरेका छौ, विद्यार्थीहरुलाई पनि पुरस्कार स्वरुप कापी र पेन्सिल उपलब्ध गराएका छौ,’ प्रधानाध्यापक ओलीले भने । उक्त विद्यालयमा प्रारम्भिक बाल विकास (इसिडि) देखि कक्षा ३ सम्म पढाई हुन्छ । विद्यालयमा ३६ जना बालबालिका अध्ययनरत छन् ।

 

प्रतिक्रिया