राउटे समुदायका गर्भवती र सुत्केरीलाई मासु र फलफूल वितरण

राउटे समुदायका गर्भवती र सुत्केरीलाई मासु र फलफूल वितरण


दैलेख : राउटे समुदायका गर्भवती र सुत्केरी महिलाहरुलाई मासु र फलफूल वितरण गरिएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले मासु र फलफूल वितरण गरेको हो । समुदायका सुत्केरी र गर्भवती महिला सहित १५ जनालाई मासु र फलफूल वितरण गरिएको हो ।

राउटे समुदायमा एईआएन लक्जेम्बर्गको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालमार्फत राउटे परियोजना सञ्चालत छ । परियोजना मार्फत मासु र फलफूल वितरण गरिएको परियोजनाका जोडी शिक्षक लालबहादुर खत्रीले बताए । जोडी शिक्षक खत्रीका अनुसार १५ केजी मासु, १० केजी स्याउ र १० केजी अंगुर वितरण गरिएको हो । राउटे नागरिकहरु हाल सिम्ता गाउँपालिका–३ बाखर्कमा बसोबास गर्दैै आएका छन् ।

राउटे जाती मानव सभ्यताको ईतिहास बोकेको समुदाय हो । त्यतिमात्र होइन दक्षिण एसियाको एकमात्र अन्तिम भ्रमणशिल समुदाय हो । लोपोन्मुख मध्येको पनि अति लोपोन्मुख जाती राउटे कर्णालीमा घुमन्ते जीवनयापन गरिरहेका छन् । नेपाल सरकारले राउटे नागरिकलाई २०६३ बाट सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आईरहेको छ । २०७५ असार ३० गते दैलेखको गुराँस गाउँपालिकाबाट परिचय पत्र प्राप्त गरेका राउटे नागरिकलाई कर्णाली प्रदेश सरकारले मासिक २ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिन सुरु गरिसकेको छ ।

मुख्यतया कर्णालीको दैलेख, सुर्खेत, सल्यान, जाजरकोट र दाङ जिल्लाको जंगलहरुमा फिरन्ते जीवनयापन गर्दै आएको राउटे जातीमा रास्कोटी, कल्याल र सोमबंशी गरी तीन थर रहेको छन् । काठबाट कोसी, मुधुस, आरी बनाएर बेच्ने अर्थात् अनाजसँग साटेर आफ्नो गुजारा चलाउने गर्दछन् । कन्दमूल, गुना–बादरको मासु उनीहरुलाई विशेष मनपर्छ । आफ्नै परम्परागत रितीरिजाव, जीवनशैली, धर्मसंस्कार अंगाल्दै आएको यो जाति नेपालको संकटासन्न जातिमा पर्दछ ।

प्रतिक्रिया