काममा फर्किए गभर्नर

काममा फर्किए गभर्नर

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बुधबारदेखि काममा फर्किएका छन् । सर्वोच्च अदालतले मंगलबार काम गर्नबाट नरोक्न अन्तरिम आदेश दिएसँगै गभर्नर अधिकारी काममा फर्किएका हुन् ।

सर्वोच्चले मन्त्रिपरिषद्को निर्णय र अर्थ मन्त्रालयले चैत २५ गते अधिकारीको नाममा जारी गरेको पत्राचार तत्काल कार्यान्वयन नगर्न र नगराउन आदेश दिएको हो। सरकारले आफूलाई गरेको निलम्बन कानुन विपरीत भएको भन्दै गभर्नर अधिकारीले आइतबार रिट दायर गरेका थिए।

अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर उनले मुद्दा दायर गरेका थिए।

राष्ट्र बैंकमा पुनर्वहाली गर्दै उनले कसैप्रति आग्रह-पूर्वाग्रह नराखी काम गर्ने बताए ।पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै अधिकारी ले राष्ट्र बैंकको स्वायत्तता र देशको अर्थतन्त्रका विषयमा संवेदनशिलता देखाएकोमा सबैप्रति आभार प्रकट गरेका थिए ।

उनले भने, ‘सञ्चारमाध्यम, नागरिक समाज, सामाजिक सञ्जाल र केही राजनीतिक नेतृत्वबाट समेत विषयको संवेदनशिलता महसुस गरेर सरोकार देखाइएकोमा आभारी छु ।’

आफ्नो निवेदन सर्वोच्चमा विचाराधीन नै रहेको हुँदा यस विषयमा धेरै नबोल्ने उनले बताए । ‘हामी व्यक्तिभन्दा पनि संस्था हौं । यो सिस्टमका लागि आएको आदेश हो । म त एउटा माध्यम मात्रै हुँ । विभिन्न घटना-परिघटनाले यस्तो स्थिति ल्याउँछन् । हामीले जिम्मेवारी निर्वाह गर्दा सबैसँग आवश्यक समन्वय सम्पर्क गरिरहने छौं । आग्रह-पूर्वाग्रह राखेर काम गर्ने भन्ने हुँदैन । यसमा सतर्क रहनेछौं,’ उनले भने ।

प्रतिक्रिया