चन्दननाथ मन्दिरमा विवाह गर्दा जन्मदर्ता प्रमाणपत्र अनिवार्य

चन्दननाथ मन्दिरमा विवाह गर्दा जन्मदर्ता प्रमाणपत्र अनिवार्य

जुम्ला : कर्णालीको प्रसिद्ध चन्दननाथ मन्दिरमा विवाह गर्दा जन्मदर्ता प्रमाणपत्र अनिवार्य गरिएको छ । बालविवाह रोक्नका लागि मन्दिरमा विवाह गर्ने जोडीले स्पष्ट परिचय खुल्ने प्रमाणपत्र बोकेर ल्याउनुपर्ने प्रावधान बनाइएको हो । पछिल्लो समयमा मन्दिरमा विवाह गर्दा कुनै वास्ता नहुने गुनासो बढेपछि जुम्लाको चन्दननाथ मन्दिरमा अनिवार्य जन्मदर्ता प्रमाणपत्र चाहिने अवधारणा अघि सारिएको चन्दननाथ भैरवनाथ गुठी समितिका सुब्बा रत्नप्रसाद आचार्यले बताए ।

उनले भने, ‘मन्दिरमा सुटुक्क विवाह गर्न पाइन्छ, उमेरको सोधिखोजी हुँदैन भन्ने भ्रम छ, जसका कारण अधिकांश उमेर नपुगेका जोडी मन्दिरमा विवाह गर्न चाहन्छन् । यो भ्रम चिर्नको लागि अनिवार्य जन्मदर्ता ल्याउनुपर्ने व्यवस्था गरिएको हो ।’ अहिले उमेर पुगेका जोडी मात्र विवाह गर्न मन्दिरमा आउने गरेका छन् ।

मन्दिरमा कडाइ नहुँदा बालबालिका विवाह गर्न आउन सक्ने सम्भावना बढेको थियो । कसैले ललाइफकाइ गरेर विवाह गर्न ल्याउने पनि गरिएको देखिन्छ । कमै उमेरमा विवाह गरेर बालबालिकाको भविष्य नबिग्रियोस् भन्नका लागि मन्दिरमा पनि विवाह गर्दा अनिवार्य २० वर्ष नाघेको हुनुपर्ने व्यवस्था मिलाइएको हो । उमेर पुगेको जोडीले विवाह गर्न आउँदा कुनै समस्या भएन । तर, बालबालिका विवाह गर्दा कानुनी रुपमा अपराध नै हुने भएकोले अपराधजन्य क्रियाकलाप रोकथामका लागि गुठी समिति लागि परेको हो ।

बालबालिका मन्दिरमा विवाह गर्न आएपछि अनिवार्य रुपमा उनीहरुका अभिभावकलाई बोलाइन्छ । उनीहरुलाई उनीहरुको सबै कागजात ल्याउन लगाइन्छ । सबै हिसाबले बालबालिका ठहरिएको खण्डमा सम्झाइबुझाइ गरेर अभिभावकको जिम्मा लगाइन्छ । सुब्बा आचार्यका अनुसार कम उमेरमा विवाह गर्न चाहने जोडीलाई मन्दिर प्रवेशमा प्रतिबन्ध गरिएको छ ।गुठिसमितिले सम्झाउँदा नमान्ने परिवारलाई नजिकैको प्रहरीको जिम्मा लगाउने गरिएको छ । मन्दिरभित्र गुठी समिति र प्रहरीले उनीहरुको हरेक कागजातको जाँच गर्छन् ।

अहिलेसम्म उमेर नपुगेका तीन जोडीलाई अभिभावकको जिम्म लगाइएको सुब्बा आचार्यले जानकारी दिए । ‘उनीहरु बालविवाह गर्न आए, हरेक हिसाबले उमेर पुगेको देखिएन, उनीहरुको भविष्य डामाडोल हुने देखेपछि आ–आफ्नो घरमा अभिभावक बोलाएर फर्कायौं,’ आचार्यले थपे, ‘राम्रोसित पढ्नु, भविष्य बनाएर मात्र विवाहको तयारी गर्नु भनेर घर फर्कायौं । उनीहरु विवाह नगर्न मञ्जुर भएर घर फर्किए ।’ कान्तिपुरबाट

प्रतिक्रिया