नेकपा एसका केन्द्रीय सदस्य शाही र प्रदेश कमिटि सिंह एमालेमा फर्किए

नेकपा एसका केन्द्रीय सदस्य शाही र प्रदेश कमिटि सिंह एमालेमा फर्किए

दैलेख : नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सदस्य तर्कबहादुर शाही एमालेमै फर्किएका छन् । केन्द्रीय सदस्य एवं दैलेख जिल्ला सह–इन्चार्ज समेत रहेका शाहीले एकीकृृत समाजवादी पार्टी परित्याग गरि एमालेमै फर्किएको घोषणा गरेका हुन् । गठबन्धन सत्ता लुछाचुँडीका लागि मात्रै भएको भन्दै उनले एक विज्ञप्तीमार्फत नेकपा एमालेमा फर्किएको बताएका हुन् ।
केन्द्रीय सदस्य एवं दैलेख जिल्ला सह–इन्चार्ज समेत रहेका शाहीसहित राष्ट्रिय पार्सद एवं प्रदेश कमिटि सदस्य सुस्मिता सिंह पनि एमालेमै फर्किएकी छिन् । उनि ठाटीकाँध गाउँपालिकाको उपाध्यक्ष समेत हुन् । शाही र सिंहले नेकपा एकीकृत समाजवादी छाडेर एमालेमा फर्किएको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

‘२०७७ साल पुस ५ गतेदेखि यो मुलुकमा प्रतिगमनको खतरा देखिएको हो भने र संविधानको रक्षार्थ गठबन्धन बनेको हुन्थ्यो भने आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई एउटा सशक्त आन्दोलनको स्वरुप दिन पर्दथ्यो, यदि यो आन्दोलन हो भने यस आन्दोलनको अगुवाइ नेकपा (एकीकृत सामाजवादी) ले गरेकोले उसैको नेतृत्वमा चुनावी गठबन्धन हुनु पर्दथ्यो, यसको ठिक विपरीत नेकपा एकीकृत सामाजवादीलाई केबल फट्के किनाराको साक्षी मात्र बनाइयो, जालझेलपूर्ण व्यवहार देखाइयो, यसबाट के पुष्टि हुन्छ भने यो गठबन्धन प्रतिगमनका विरुद्ध थिएन केबल सत्ताको लुछाचुँडी मात्र थियो’, विज्ञप्तीमा भनिएको छ ।

गठबन्धनको भ¥याङ चढेर गुमेको सत्ता पुनः प्राप्तिको खेलमा लागेको नेपाली कांग्रेसको नेतृत्वले आफ्ना इमानदार कार्यकर्तालाई जवाफ दिन नसकेको टिप्पणी उनिहरुको छ । ‘उग्र बामपन्थी भड्कावबाट उत्पत्ति भएको नेकपा माओवादी केन्द्र गठबन्धनको सहारामा खिइँदै गएको आफ्नो अस्तित्व जोगाउन कांग्रेसरुपी गाईको पुच्छर समातेर वैतरणी पार गर्न खोज्दा दश वर्षे युद्ध के–का लागि थियो ? उसको नेतृत्वसँग जवाफ छैन ।’

बिनाकारण पार्टी फुटाउने र अप्राकृतिक गठबन्धन गरेर आफू सत्तामा जान र टिकीराख्न गरिने सम्पुर्ण कार्य जनविरोधी कार्य भएको बताउँदै लोकतन्त्र विरोधी कार्यसमेत रहेको आरोप लगाएका छन् । ‘लोकतन्त्रभित्रका फरक फरक विचारहरूलाई कमजोर पार्ने र एक मात्र बलियो पार्टी नेकपा (एमाले) लाई फोड्ने खेल सुरू भएको छ यो अपराध गर्न सकिन्न, यही निष्कर्षका साथ हामी आफ्नो पार्टी नेकपा (एमाले) मा फर्किने निधो गरेका हौं’, विज्ञप्तीमा भनिएको छ । एकीकृत समाजवादीको ठाटीकाँध गाउँ कमिटी यसअघि नै नेकपा एमालेमा समाहित भइसकेको छ ।

हेर्नुहाेल विज्ञप्ति

प्रतिक्रिया