बालबालिका प्रयोग नगर्न र सुरक्षित सुत्केरी सेवा प्रभावित नपार्न आग्रह

बालबालिका प्रयोग नगर्न र सुरक्षित सुत्केरी सेवा प्रभावित नपार्न आग्रह

दैलेख : संविधान जारी भएपछि दोस्रो पटक स्थानीय तह सदस्य निर्वाचन यही बैशाख ३० गते हुँदैछ । दलहरुले निर्वाचन लक्षित चुनावी गतिविधिहरु सञ्चालन गरिरहेका छन् । दलहरुका चुनावी गतिविधिमा बालबालिकाको प्रयोग भएको समाचारहरु विभिन्न सञ्चार माध्ययममा सार्वजनिक भइरहेका छन् । स्थानीय तह निर्वाचनका लागि वैशाख २७ गते मंगलबार राति १२ बजेपछि मौन अवधि लागू हुँदैछ । निर्वाचन आयोगले पालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष र सदस्य चुन्न मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको छ । मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ ।

दलहरुलाई मौन अवधिको पूणपालना गर्न र आचारसंहिताको पूर्ण पालनाका लागि अनुरोध गर्दै विज्ञप्ती जारी भएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका अध्यक्ष हीरासिंह थापा, मानव अधिकार रक्षक संजालको संयोजक विशाल सुनार र इन्सेक जिल्ला प्रतिनीधि अमर सुनारद्धारा हस्ताक्षरित विज्ञप्तीमा विद्यालय शान्ति क्षेत्र कार्यान्वयन प्रतिबद्धतामा ऐक्यबद्धता जनाएका जिल्लास्थित दलहरुले ‘कुनै पनि दलगत क्रियाकलापमा बालबालिकाको प्रयोग गर्ने छैनौ’ भन्दै गरेको प्रतिबद्धता प्रभावकारी कार्यान्वयन गर्न अपिल गरिएको छ ।

मौन अवधी सूरु हुनुअघि दलहरुले आयोजना गरेका चुनावी सभा, ¥याली लगायतका कार्यक्रममा बालबालिकाको अत्याधिक प्रयोग भएको विभिन्न सञ्चार माध्ययम, सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएका थिए । निर्वाचन आचारसंहितामा १८ बर्ष उमेर पुरा नभएका बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न र गराउन नहुने उल्लेख छ ।

विज्ञप्तीमा निर्वाचन कार्यक्रम अनुसार वैशाख ३० गते हुने मतदान केन्द्रमा कर्मचारी खटाउँदा आपत्तकालिन स्वास्थ्य सेवाको काम गर्दै आएका कतिपय प्रसूती गृहमा स्वास्थ्यका कर्मचारीहरु खाली हुने गरी खटाइएको जानकारी आएकोले कहिँकतै आपत्तकालिन सुरक्षित सुत्केरी सेवा प्रभावित हुन सक्ने भएकोले त्यस्तो सेवा दिनुपर्ने अवस्था आए विकल्प अपनाउन आग्रह गरिएको छ ।

यस्तै निर्वाचनका लागि तोकिएका कतिपय मतदान केन्द्र तथा मतदान स्थलहरु विद्यालय हाता भित्र रहेको विज्ञप्तीमा उल्लेख   छ । ‘मतदान प्रक्रिया सकिएपछि केही ठाउँमा मतगणनाका लागि समेत विद्यालय भवनहरु प्रयोग गर्ने तयारी भएको जनाकारीमा आएको छ,’ विज्ञप्तीमा भनिएको छ ‘मतगणना गरिने भएको अवस्थामा विद्यालय बन्द हुने देखिएकोले विद्यार्थी भर्ना अभियान र शैक्षिक सत्रको पठनपाठन सुचारु गर्ने कार्य प्रभावित हुनसक्ने भएकोले विद्यालयमा मत गणना कार्य नगर्न सरोकारवाला निकायहरु समक्ष ध्यानाकर्षण गराउन चाहन्छौं ।’

हेर्नुहाेस् विज्ञप्ती 

 

प्रतिक्रिया