महाबु गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा काँग्रेस विजयी

महाबु गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा काँग्रेस विजयी

दैलेख : दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका लछुमन गुरुङ्ग विजयी भएका छन् । उनले २९७१ मत गरेर गाउँपालिका अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गुरुङ्गले नेकपा एमालेका हरिप्रसाद उपाध्याय र नेकपा (एकीकृत समाजवादी) पार्टीका जंगबहादुर शाहीलाई पराजित गरेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेका उपाध्यायले २५१९ मत पाए । एकीकृत समाजवादीबाट अध्यक्षका उम्मेदवार जंगबहादुर शाहीले २२६८ मत पाए । शाही निवर्तमान अध्यक्ष समेत हुन् ।

उनि २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट विजयी भएका थिए । पछि नेकपा एमाले विभाजनपछि उनि एकीकृत समाजवादीमा लागेका थिए ।

गाउँपालिकाको उपाध्यक्षमा पनि काँग्रेसकै मञ्जु कुमारी शर्मा विजयी भएकी छन् । उनले एमालेकी दुर्गाकुमारी सिंह र एकीकृत समाजवादीकी पुण्यप्रभा दशौँदीलाई पराजित गरिन् । उपाध्यक्षमा निर्वाचित काँग्रेसकी शर्माले ३१५५ मत पाइन् ।

एमालेकी सिंहले २३०१ र एकीकृत समाजवादीकी दशौँदीले २१३३ मत पाइन् । दशौँदी नेपाली काँग्रेसको नेता हुन् । काँग्रेसले उपाध्यक्षको टिकट नदिएपछि उनि एकीकृत समाजवादी प्रवेश गरेर उपाध्यक्षमा उम्मेदवारी दिएकी थिइन् ।

प्रतिक्रिया