कर्णालीमा कांग्रेस पहिलो, तेस्रोमा झर्‍यो एमाले

कर्णालीमा कांग्रेस पहिलो, तेस्रोमा झर्‍यो एमाले

सुर्खेत : कर्णालीमा यसपटक स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई नाफा भएको छ। अघिल्लो निर्वाचनको तुलनामा यसपालि कांग्रेसले धेरै स्थानीय तहमा नेतृत्व हात पारेको छ। स्थानीय तहमा आफूअनुकुल विभिन्न दलसँग गठबन्धन गरेको कांग्रेसले प्रदेशमा सबैभन्दा बढी स्थानीय तहको नेतृत्वमा जित हासिल गरेको हो। अघिल्लो पटकको तुलनामा यसपाली धेरै स्थानीय तहमा जितेको कांग्रेसलाई गठबन्धनका कारण नाफा भएको हो।

यसपालीको निर्वाचन परिणामले कर्णालीमा कांग्रेस पहिलो शक्ति बनेको छ। अघिकांश स्थानीय तहमा गठबन्धन गरेको माओवादी भने प्रदेशमा दोस्रो शक्तिमै यथावत रहेको छ। तर अघिल्लो निर्वाचनमा प्रदेशमा पहिलो शक्ति बनेको एमाले भने  तेस्रो शक्तिमा खुम्चिन पुगेको छ। एमालेले पनि आफू कमजोर रहेको केही तहमा अन्य दलसँग तालमेल गरेको थियो। केन्द्रमा पाँच दलीय गठबन्धन भनिए पनि प्रदेशमा दलहरुले आफू बलियो भएका स्थानमा एक्लाएक्लै र कमजोर भएका स्थानमा आफूअनुकुल अन्य दलसँग चुनावी गठबन्धन बनाएर प्रतिस्पर्धा गरेका थिए।

कर्णालीमा जम्मा ७९ वटा स्थानीय तह छन्। जसमा कांग्रेसले सबैभन्दा बढी ३२ वटा स्थानीय तहको नेतृत्व हात पारेको छ। अघिल्लो निर्वाचनमा जम्मा २५ वटा तहमा मात्र कांग्रेसले प्रमुख पद जितेको थियो। तर यसपटक कांग्रेसले गठबन्धनको सहायतामा थप सात वटा तहमा प्रमुख जितेर ३२ वटा तहको नेतृत्व हात पारेको हो। यसपटक प्रदेशमा सबैभन्दा बढी १३ वटा स्थानीय तहमा कांग्रेसले एक्लै जितेको छ। १३ वटा स्थानीय तहमा प्रमुख र उपप्रमुख दुबै कांग्रेसका उम्मेदवार विजयी भएका हुन्। यस्तै १९ वटा स्थानीय तहमा प्रमुख मात्र जितेको कांग्रेसले १४ वटा पालिकामा उपप्रमुख मात्र जितेको छ। यस हिसावले पनि कांग्रेस यसपाली नाफामा हुँदै प्रदेशको पहिलो शक्ति बन्न सफल भएको हो।

तर अघिल्लो निर्वाचनमा सबैभन्दा बढी २७ वटा स्थानीय तहमा प्रमुख जितेर पहिलो शक्ति बनेको एमाले भने यसपाली तेस्रो शक्तिमा झरेको छ। योपटक एमालेले प्रदेशभर जम्मा १५ वटा पालिकामा मात्र नेतृत्व हात पारेको छ। त्यसमा पनि एमालेले जम्मा ११ वटा स्थानीय तहमा मात्र एक्लै जितेको छ। अर्थात ११ वटा स्थानीय तहमा प्रमुख र उपप्रमुख दुबै एमालेका उम्मेदवार विजयी भएका छन्। यस्तै एमालेले चार वटा तहमा प्रमुख मात्र र नौ वटा तहमा उपप्रमुख मात्र जितेको छ। अघिल्लो निर्वाचनको तुलनामा यसपटक एमालेले प्रदेशमा १२ वटा तहको प्रमुख पद गुमाएको छ। सत्तारुढ गठबन्धनका कारण एमालेलाई कर्णालीमा सबैभन्दा बढी क्षति पुगेको हो।

यस्तै गठबन्धनका कारण माओवादी केन्द्र भने दोस्रो स्थानमै रहन सफल भएको छ। तर अघिल्लो निर्वाचनको तुलनामा यसपटक माओवादीले दुई वटा स्थानीय तहको प्रमुख पद भने गुमाएको छ। अघिल्लो निर्वाचनमा कांग्रेसकै बराबर २५ वटा पालिकाको प्रमुख पद जितेको माओवादीले यसपाली भने जम्मा २३ वटा तहको नेतृत्व हात पारेको छ। त्यसमा पनि माओवादी एक्लैले जम्मा ११ वटा पालिकामा जितेको छ। अर्थात ११ वटा स्थानीय तहमा प्रमुख र उपप्रमुख दुबै पदमा माओवादीका उम्मेदवार विजयी भएका छन्। त्यसैगरी माओवादीले यसपाली १२ वटा पालिकामा प्रमुख मात्र र १४ वटा पालिकामा उपप्रमुख मात्र जितेको छ।

एमालेभन्दा बढी पालिकाको नेतृत्व हात पार्दै माओवादी प्रदेशमा दोस्रो शक्ति बनेको छ। जनयुद्धको उद्गमस्थल भएकाले पनि माओवादीले कर्णालीलाई आफ्नो आधार इलाकाको रुपमा लिने गरेको छ। एमालेबाट विभाजन भएको एकीकृत समाजवादीले भने प्रदेशमा जम्मा चार वटा पालिकाको नेतृत्व हात पारेको छ। समाजवादीले चार वटा पालिकाको प्रमुख र ६ वटा पालिकामा उपप्रमुख जितेर प्रदेशमा चौंथो शक्ति बनेको छ। कर्णालीका विभिन्न पाँच वटा स्थानीय तहको प्रमुखमा भने स्वतन्त्र उम्मेदवारले जितेका छन्। यस्तै एउटा स्थानीय तहको उपप्रमुखमा पनि स्वतन्त्र उम्मेदवार नै विजयी भएका छन्।

प्रतिक्रिया