दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि दुइ वर्ष समय थप

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि दुइ वर्ष समय थप

दैलेख : दैलेखको पञ्चकोशी ज्वाला क्षेत्रमा जारी पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि समय थपिएको छ । पहिलो चरणको काम सकिएपछि दुई वर्ष समय थपिएको हो ।

पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि सन २०२२ फेब्रुअरी २८ सकिएपछि २०७८ चैत १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि दुई वर्ष समय थप गरेको खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा.गणेशनाथ त्रिपाठीले बताए ।

डा.त्रिपाठीले चिनिया टोली नेपाल आउन साथ दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन अन्तर्गत दोस्रो चरणको काम सुरु हुने बताए । ‘कोभिड महामारीका बेलादेखि नेपाल र चीनबीच सिधै हवाइ सेवा सञ्चालन हुन सकेको छैन’, त्रिपाठीले भने, ‘चिनिया टोली नेपाल आउन तयार छ । हवाइ सेवा सञ्चालन हुनासाथ टोली नेपाल आउँछ ।’

पेट्रोलियम पदार्थ अन्वेषणका लागि तीन वटा पूर्वपश्चिम र सात वटा उत्तर दक्षिण दिशामा खनिएका १० वटा सिस्मिक लाइनहरूमा सर्भे कार्य सकिएपछि अन्वेषणका लागि गरिने मुख्य ड्रिलिङको काम सुरु गर्ने भनिए पनि कोरोनाका कारण काम प्रभावित बनेको थियो ।

ज्वाला क्षेत्र नाविस्थान श्री स्थान, कोटिला र तल्लो डुंगेश्वर पादुकालगायत क्षेत्रलाई आधार बनाएर पेट्रोलियम पदार्थ अन्वेषणका लागि नेपाल सरकार र चीन सरकारको जिओलोजिकल सर्वे कम्पनीबीच सन् २०१९ फेब्रुअरी २८ मा सम्झौता भएको थियो ।
दैलेखको ज्वाला क्षेत्रमा सदिऔँदेखि पानीमाथि आगो बल्दै आएको छ ।

प्रतिक्रिया