कपुरकोटमा परेको असिना पानीले तरकारी तथा फलफूलमा क्षति

कपुरकोटमा परेको असिना पानीले तरकारी तथा फलफूलमा क्षति

सल्यान : जिल्लाको कपुरकोट गाउँपालिकामा परेको असिना पानीले दुई करोड बराबरको तरकारी तथा फलफूलमा क्षति पुर्याएको छ ।

बाक्लो असिना पानीका कारण सुन्तला, बेमौसमी तरकारी र नर्सरी ब्याड नष्ट भएको हो । असिना पानीका कारण १ करोड ९२ लाख ६० हजार १ सय ८० रुपैयाँ बराबरको क्षति भएको कपुरकोट गाउँपालिका कृषि शाखाले जनाएको छ ।

कृषि शाखाका अनुसार गत बिहीबार आएको असिना पानीले १९ किसानले राखेको नर्सरी ब्याडमा १ लाख ३२ हजार ५०० रुपैयाँ, तरकारी खेती गरेका ९५ किसानको ९८ लाख ४० हजार ४ सय ३० रुपैयाँ र ६५ किसानको सुन्तलामा ९२ लाख ८७ हजार २ सय ५० रुपैयाँ बराबरको क्षति भएको कृषि शाखा प्रमुख टिका कुमारी राईले जानकारी दिए ।

असिना पानीले विशेष गरी वडा न ४ को रावत टोल, गाडा पानी, चिन्नेखोलामा क्षति गरेको उनको भनाई छ । वडाबाट मुचुल्का उठाउने काम भइरहेकाले क्षतिको विवरण बढ्ने सक्ने सम्भावना छ,’उनले भने, ‘वडा र पालिकामा आएर किसानहरूले निवेदन दिइरहनु भएको छ । क्षतिको विवरण उत्पादनको हिसाबले गरी रहेका छौँ ।’

कपुृरकोट क्षेत्र मौसमी तथा बेमौसमी तरकारी खेतीका लागि प्रख्यात रहेको छ । आम्दानीको मुख्य स्रोत तरकारी तथा फलफूललाई बनाउँदै गएका कपुरकोटबासी यस पटक भने असिना पानीले क्षति पुर्याए पछि चिन्तित बनेका छन् ।

प्रतिक्रिया