कृषि उत्पादनमा वृद्धि गर्न सल्यानमा माटो परिक्षण

कृषि उत्पादनमा वृद्धि गर्न सल्यानमा माटो परिक्षण

सुर्खेत : सल्यानको सिद्ध कुमाख गाउँपालिकामा माटो परीक्षण तथा घुम्ती बाली उपचार शिविर सम्पन्न भएको छ । किसानको आवश्यकतालाई मध्यनजर गर्दै कृषि उत्पादनमा वृद्धि गर्न माटो परीक्षण तथा बाली उपचार शिविर सञ्चालन गरिएको हो ।

सिद्ध कुमाखमा बेमौसमी तरकारी उत्पादन हुने क्षेत्र, शारदा नगरपालिकाको वरला, रामेखोला क्षेत्र र बागचौर नगरपालिकाको कालाखेत, मोखला लगायत आदि क्षेत्रका किसानहरुलाई लक्षित गरि सिद्द कुमाख गाउँपालिकाको ढोरचौरमा १ दिने माटो जाँच र बाली उपचार शिविर सम्पन्न भएको कृषि क्षेत्र विकास कार्यक्रम सल्यानले जनाएको छ ।

शिविरमा एकसय १७ वटा माटोको नमुना र २१ बाली बिरुवाको परीक्षण गरिएको थियो । परीक्षण गरिएका नमुना मध्ये धेरै जसो नमुनामा माटोको अम्लीयता (पि.एच) ६.५ भन्दा कम पाइयो कृषि क्षेत्र विकास कार्यक्रमका कार्यक्रम संयोजक श्री विनोद कुमार भट्टराईले बताए । माटोको उर्वराशक्ति वृद्धिका लागि कृषि चुनको प्रयोग तथा सिफारिस मात्रामा खाध्यतत्वको प्रयोगका सिफारिस गरिएको उनको भनाई छ ।

शिविरमा खेती योग्य जमिनको माटोमा भएका खाध्यतत्वको अवस्था पत्ता लगाई माटोको अम्लीयपनाको अवस्था (पि.एच) नाइट्रोजन, फस्फोरस, र पोटासको अवस्था पत्ता लगाई समस्याको पहिचान गरि समाधानका लागि माटोको उर्वराशक्ति व्यवस्थापन गर्न कृषकलाई सहयोग हुने अपेक्षा लिइएको संयोजक भट्टराईको भनाई छ ।

सिद्ध कुमाख गाउँपालिका अध्यक्ष भरत गिरीले गाउँपालिका भित्रका किसानलाई शिविर पश्चात् सुधारको लागि पालिकाबाट सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । साथै उनले कृषि क्षेत्र विकास कार्यक्रम सँगको समन्वयमा कृषि क्षेत्रको विकासको लागि कार्यक्रम अगाडि बढाउने बताए ।

नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगत सञ्चालित कृषि क्षेत्र विकास कार्यक्रमको आयोजना तथा कृषि प्रयोगशाला सुर्खेतको प्राविधिक सहयोग र सिद्ध कुमाख गाउँपालिका, सल्यानको समन्वयमा शिविर सम्पन्न भएको हो ।

प्रतिक्रिया