यसपालि बढी वर्षा हुने

यसपालि बढी वर्षा हुने

काठमाडौँ : नेपालमा आइतबारदेखि मनसुन आएको छ । जल तथा मौसमविज्ञान विभागले यसअघि अनुमान गरेको मितिभन्दा आठ दिनअघि नै नेपालमा मनसुनको आएको हो । विभागले आइतबार विशेष मौसम बुलेटिन जारी गर्दै नेपालको पूर्वी भूभागको प्रदेश १ हुँदै मनसुन भित्रिएको जनाएको छ । केही दिनभित्रै देशका सबै भूभागमा मनसुन प्रवेश गर्ने अनुमान विभागले गरेको छ ।

न्यूनचापीय क्षेत्रको विस्तार भएका कारण छिट्टै मनसुन भित्रिएको वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले बताए।  भारतको केरलामा झन्डै एक साताअघि निर्माण भएको मनसुनी न्यूनचापीय प्रणाली त्यहाँको बढ्दो तापमानका कारण विस्तार हुने र अन्यत्र सर्ने क्रममा तीव्रता आएकाले पनि नेपालमा मनसुन एक साताअघि नै भित्रिएको हो ।

नेपालमा मनसुन आउनुपूर्व भारतमा बनेको प्रणाली दुई भागमा छुट्टिएर एउटा पाकिस्तानतर्फ र अर्को बङ्गालको खाडीतर्फ सरेको थियो । त्यो प्रणाली बङ्गालको खाडीमा पुगेर थप विस्तार नहुँदै नेपालमा आइपुगेकाले पनि मनसुनको आगमन यसपालि छिटो भएको हो । मनसुन बङ्गालको खाडीमा विस्तार भएपछि वर्षाको स्तर थप बढी हुन सक्ने अनुमान गरिएको छ ।

यसपालिको मनसुन आगामी असोज ४ गतेसम्म रहने अनुमान छ । चार महिने मनसुनी सिजनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने जल तथा मौसन विज्ञान विभागले जनाएको छ । विभागले अघिल्ला वर्षमा भन्दा सरदर बढी वर्षा हुने भएकाले बाढी, पहिरोलगायतका प्राकृतिक विपत्तिको सम्भावनालाई ध्यानमा राखी पूर्वतयारी थाल्न सरोकारवाला निकायलाई विभागले अनुरोध गरेको छ ।

विशेष गरी प्रदेश १ का तराईका भूभाग, बागमती प्रदेशका उत्तर–पूर्वी भूभाग, गण्डकी प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका उत्तर–पश्चिमी भूभाग तथा सुदूरपश्चिम प्रदेशका उत्तरी भूभागमा औसतभन्दा बढी वर्षाको सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशत रहेको जनाइएको छ ।

यसले पूर्वी तराईमा बाढी र डुबानकासाथै पहाडी भेगमा पहिरोको जोखिम बढाउनेछ । त्यस्तै सुदूरपश्चिम प्रदेशका पूर्वी भूभाग, कर्णाली प्रदेशका मध्य भूभाग, गण्डकी प्रदेशका मध्य–पश्चिमी भूभाग र प्रदेश १ को मध्य भूभागमा औसतभन्दा बढी वर्षा हुने सम्भावना ४५ प्रतिशत देखि ५५ प्रतिशत रहेको छ । गण्डकी प्रदेशका उत्तरी भूभाग र सुदूरपश्चिम प्रदेशका मध्य तथा पश्चिमी भूभागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ भने प्रदेश १ का उत्तरी भूभाग, बागमती प्रदेशका दक्षिणी भूभाग र मधेश प्रदेशका अधिकांश भूभागमा औसतभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया