जुम्लामा कृषकलाई जुम्ली मार्सीधान रोप्ने चटारो

जुम्लामा कृषकलाई जुम्ली मार्सीधान रोप्ने चटारो

जुम्ला । स्थानीय निर्वाचन सकिएपछि फुर्सदिला बनेका कृषकलाई जुम्ली मार्सीधान रोप्ने चटारो छ । जिल्लाका सिँजा, पानसय ग्रज्यांकोट क्षेत्रमा धमाधम रोपाइँ भइरहेको छ । जुम्लामा जेठ पहिलो साताबाट मार्सी रोप्न सुरु गरिन्छ । मार्सी धानको बेर्ना भने चैतमै राखिन्छ  ।

‘यहाँका किसानको कृषि क्यालेन्डरअनुसार मार्सी जेठमा रोप्ने, असारमा गोडमेल गर्ने र असोज अन्तिमसम्म भित्रयाउने परम्परा छ । यसैलाई निरन्तरता दिइरहेका छौं,’ तातोपानी गाउँपालिका–७ सर्मीका दलजित बुढाले भने, ‘गत वर्ष कोरोनाको डर थियो यो वर्ष ढुक्कले रोपार र हलीहरू समूह बनाएर रोपाइँमा व्यस्त छन् ।’

स्थानीय लक्ष्मीकला रावतका अनुसार, रोपाहार लावालस्करका साथ मागल गाउने हुनाले जिउलोमा रौनकता छाएको छ ।

जुम्ली मार्सीधानको खेतीको सुरुवात भने तातोपानी गाउँपालिकाको गुरुफोक्टोबाट भएको इतिहास छ । अहिले तातोपानी गाउँपालिकाको लाछु ज्युलोमा मार्सीधान मात्रै रोप्ने गरिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौंलागाईंले बताए ।

 

प्रतिक्रिया