जिल्ला समन्वय समिति दैलेखको निर्वाचन विवादित

जिल्ला समन्वय समिति दैलेखको निर्वाचन विवादित

जिसस प्रमुख पदका बागी उम्मेदवार विरुद्ध उजुरी, मुख्य निर्वाचन अधिकृतको कार्यालय भन्छ ‘आयोगबाट अन्तिम निर्णयको प्रतीक्षामा छौँ’

दैलेख : जिल्ला समन्वय समिति दैलेखको निर्वाचन यतिबेला विवादित र चासोको केन्द्रमा छ । जिल्ला समन्वय समितिको प्रमुख र एक सदस्यमा स्वतन्त्र उम्मेदवारी परेपछि निर्वाचन विवादित बनेको हो । जिसस दैलेखको प्रमुख पदमा नेपाली काँग्रेसका आधिकारीक उम्मेदवारविरुद्ध परेको बागी उम्मेदवारी खारेजको माग गर्दै परेको उजुरी परेपछि भोलि जेठ २६ गते हुने भनिएको मतदान समेत अन्यौलमा परेको छ ।

सो पदका काँग्रेसको आधिकारिक उम्मेदवार दुर्गाकुमारी श्रेष्ठले बागी उम्मेदवार नमराज शाहीको उम्मेदवारी खारेजको उजुरी दिएकी छन् । जिल्ला समन्वय समितिको निर्वाचन निर्देशिका २०७४ को दफा १८ मा कुनै एक दलबाट निर्वाचित व्यक्ति अर्को दलबाट जिसस प्रमुख, उपप्रमुख वा सदस्य कुनै पदमा उम्मेदवार हुन नपाउने कानूनी व्यवस्थालाई उजुरीकर्ताले उल्लेख गरेकी छन् ।

शाही आठबीस नगरपालिका वडा नम्बर ७ मा नेपाली काँग्रेसको तर्फबाट वडासदस्यमा निर्वाचित भएका थिए । शाहीलाई नेपाली काँग्रेस दैलेखले पार्टीको साधारण सदस्यता समेत नरहनेगरी पार्टीबाट निष्काशन गरिसकेको छ ।

नेपाली काँग्रेसबाट निर्वाचित भएका व्यक्तिले एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउन नपाउने कानूनी व्यवस्था भएको भन्दै श्रेष्ठले शाहीको उम्मेदवारी खारेजीको लागि उजुरी परेपछि निर्वाचन आयोगको रायको निम्ति लेखी पठाएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेले बताए ।

सोमवार बागी (स्वतन्त्र) उम्मेदवारी बिरुद्ध ढिला गरी दावी बिरोध आएकोले आयोगले स्वतन्त्र उम्मेदवारको नाम कायम रहने वा नरहने जे निर्णय गर्छ त्यस अनुसार भोलि विहीवार विहान १० बजेदेखि दिउँसो १ बजेभित्र मतदान गराउने कार्यक्रम रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिसस प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका नमराज शाहीले पनि आफ्नो उम्मेदवारी कायम हुनुपर्ने भन्दै निवेदन दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । शाहीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले  निर्वाचन चिन्ह खरायाे प्रदान गरिसकेकाे छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको मनोनयन दर्ता, अन्तिम नामावली प्रकाशन, उमेदवारलाई चुनाव चिह्न प्रदान प्रक्रिया सकिसकेको छ । बागी उम्मेदवार विरुद्ध उजुरी परेपछि आयोगको अन्तिम निर्णय पर्खिएको तर मतदान कार्य तालिका अनुसार भोलि बिहीवार विहान १० बजेदेखि दिउँसो १ बजेसम्म मतदान गर्र्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयको कार्यसूची अनुसार जेठ २३ गते सोमवार जिल्ला समन्वय समिति दैलेखको निर्वाचनका निम्ति उम्मेदवारी परेको थियो । जस अनुसार समन्वय प्रमुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी दुर्गाकुमारी श्रेष्ठ र एमालेको समर्थनमा बागी उम्मेदवार नमराज शाहीको उम्मेदवारी दर्ता भएको थियो ।

एक जना जिसस प्रमुख, एक जना उपप्रमुख, ती महिला र एक दलित समेत ७ जना सदस्य पदका लागि गठबन्धन समूहका ९ जना र प्रमुख पदमा बागीलाई समर्थन गर्दै बाँकी एक उपप्रमुख र ८ सदस्य पदका लागि एमालेले उम्मेदवारी दिएको छ । जम्मा ९ पदका लागि १९ जनाको उम्मेदवारी परेको छ ।
कर्णाली प्रदेशमा सबै भन्दा धेरै ११ वटा पालिकाका २२ जना प्रमुख तथा उपप्रमुख मतदाता रहेको जिल्ला समन्वय समिति निर्वाचनका लागि एमालेका १०, नेपाली काँग्रेसका नौ, माओवादी केन्द्रका दुई र समाजवादीका एक जना मतदाता छन् ।

पहिले माओवादीलाई हातमा लिएर जिसस बनाउन खोजेको एमालेले काँग्रेसका दुई जनालाई फ्लोर क्रस गर्न सके आफूले प्रमुख जिताइदिने भन्दै काँग्रेसका असन्तुष्ट पक्षलाई जिसस प्रमुख पदमा उम्मेदवारी दर्ता गराउन प्रोत्साहित गरेको भन्ने राजनीतिक वृतमा चर्चा छ ।

जिसस निर्वाचनमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका मेयर र उपमेयर मतदाता हुने पाउने र जिसस प्रमुख, उपप्रमुख वा सदस्यको प्रस्तावक तथा समर्थक बस्न पाउने भन्ने कानूनी व्यवस्था अनुसार काँग्रेसका बागी उम्मेदवार शाहीको प्रस्तावकमा डुंगेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दर केसी र समर्थकमा दुल्लू नगरपालिकाका उपमेयर बिना कार्की छन् ।

जिसस दैलेखको प्रमुख पदमा बागी उम्मेदवारी दर्ता गर्ने नेपाली काँग्रेसका जिल्ला उपसभापति नमराज शाही आठबीस नगरपालिका वडा नंं. ७ बाट नेपाली काँगे्रस पार्टीको तर्फबाट वडासदस्य निर्वाचित भएका थिए ।

काँग्रेसबाट आधिकारिक उम्मेदवार दुर्गाकुमारी श्रेष्ठ पालिका निर्वाचन २०७९ मा नारायण नगरपालिका–१ बाट नेपाली काँग्रेसबाट वडा सदस्य पदमा निर्वाचित भएकी हुन् । उनलाई सत्ता गठवन्धन काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थन छ । गठबन्धनमा १२ र एमालेका १० मतदाता   छन् ।

प्रतिक्रिया