योजनासहित गाउँपालिकामा पुगे बालबालिका

योजनासहित गाउँपालिकामा पुगे बालबालिका

दैलेख : जिल्लाको गुराँस गाउँपालिका–५ का प्रेम विक बिहीवार गाउँपालिका पुगे । बाल सञ्जालको सचिव समेत रहेका प्रेम गाउँपालिकामा बालबालिका लक्षित योजनाहरु पेश गर्न पुगेका थिए । उनले गाउँपालिकामा योजनाहरु मात्र बुझाएनन्, बाल लक्षित योजनामा बजेट बिनियोजन तथा कार्यान्वयन गर्न आग्रह समेत गरे । देउराली बाल सञ्जालको सचिव दिलकुमारी पुनमगर गाउँपालिकामा बालबालिका लक्षित योजना पेश गर्न पुगेकी थिइन् ।

प्रेम र दिलकुमारी जस्तै पालिकाका ८ सबै वडाका बालबालिकाहरुले बालबालिका लक्षित योजनाहरु छनौट गरी गाउँपालिकामा बुझाएका छन् । आगामी आवका लागि उनिहरुले बालभेला मार्फत बालबालिका लक्षित योजना छनौट गरेको हुन् । स्थानीय तहको योजना तथा बजेट तर्जुमा गर्दा बालबालिका केन्द्रीत योजना र कार्यक्रमको छनौटमा बालबालिकाको अर्थपूर्ण सहभागिता गराउने उद्धेश्यले बाल भेला गरी बालबालिका लक्षित योजना छनौट गरि गाउँपालिकामा पेश गरिएको हो । सबै वडाका बालबालिका सहभागि बालभेलाबाट प्राथमिकीकरण भएका योजनाहरु बालबालिकाले पालिका अध्यक्ष टोपबहादुर बि.सि र उपाध्यक्ष शिवाकुमारी खड्कालाई बुझाएका छन् ।

किशोरीलाई सेनेटरी प्याड निर्माण तालिम, सबै विद्यालय घेरबार, बालमैत्री वडा घोषणा, बाल क्लवको क्षमता विकास र जीवनउपयोगी सीप, बालविवाह, छाउपडी लगाएतका प्रथा न्यूनीकरणसहित १० वटा योजनाहरु बालबालिकाले प्राथमिकतामा राखेका छन् । यस्तै मावी तहका विद्यालयमा विज्ञान प्रयोगशाला, सेनेटरी प्याड व्यवस्थापन सहितको शौचालय, बहुअपाङ्गता भएका बालबालिकालाई घरमै सिकाई सहयोग, विद्यालयमा किशोरकिशोरी सूचना केन्द्र स्थापनालाई बालबालिकाले मुख्य प्राथमिकता दिएका छन् ।

योजना पेश गरेका बालबालिकाले नवनिर्वाचित जनप्रतिनीधिहरुसँग विद्यालयमा भएका समस्याहरु सुनाए । विषयगत र गुणस्तरिय शिक्षकको व्यवस्थापन तथा खानेपानी र शौचालय निर्माण गरिदिन बालबालिकाले आग्रह गरे ।

बाल भेलाले छनौट गरेको योजनालाई प्राथमिकतामा राखेर पुरा गर्ने गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले बताए । ‘हाम्रो प्रमुख प्राथमिकता शिक्षालाई गुणस्तरिय बनाउनु हो, बालबालिकाले छनौट गरेको योजनालाई पाँच वर्षभित्र पुरा गर्छौँ, उनले भने । उनले बालबालिकाको आत्मविश्वास, प्रस्तुतीकरण शैली र योजना छनौट तथा प्राथमिकीकरण उत्कृष्ठ रहेको बताए ।

आर्थिक अभावमा विद्यालय जानबाट बञ्चित भएका बालबालिकाहरुलाई पालिकाले अभिभावकीय भूमिका निर्वाह गर्ने अध्यक्ष बिसीको भनाई छ । गाउँपालिका उपाध्यक्ष शिवा खड्काले स्थानीय तहको योजना तर्जुमा मार्फत बालबालिकाका समस्या पहिचान, समाधान र बालअधिकार सुनिश्चित गर्न प्रतिवद्ध रहेको बताइन् ।

स्थानीय तहको योजना र बजेट तर्जुमा गर्दा सहभागितामुलक विधि अनुसार नागरिकको सहभागीतामा आधारित योजना तर्जुमा गर्दा दिगो विकास गर्न सम्भव हुने सोसेक नेपालका बालसंरक्षण संयोजक निर्मल अधिकारी बताँउछन् ।

 

प्रतिक्रिया