कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थको अभाव

कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थको अभाव

पेट्रोल भर्न हातहातमा क्यानी, बोत्तलसहित पेट्रोलपम्पमा उपभोक्ता

सुर्खेत : कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थको अभाव भएको छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा पेट्रोलियम पदार्थको अभाव हुँदा उपभोक्ता मारमा परेका छन् । हातहातमा क्यानी,बोत्तल लिएर पेट्रोल पम्पमा जानेको भिड बढेको छ ।

नेपालगञ्जबाट २० हजार लिटर पेट्रोल वीरेन्द्रनगर आएपछी वीरेन्द्रनगरमा पेट्रोल हाल्ने उपभोक्ताको भिड अहिले थामिनसक्नु छ । केही दिन अघिदेखि पेट्रोल अभाव रहेका बेला नेपालगन्जबाट २० हजार लिटर पेट्रोल आएपनि उपभोक्ताहरुको भिडभाड बढेको छ ।

भारतबाट तेल भरेर नेपाल आउँदै गरेका ट्यांकरहरुलाई भारतीय कस्टमले रुपैडियामा रोकेपछि सुर्खेतमा पेट्रोल अभाव चुलिएको हो । तर नेपाल आयल निगम इन्धन डिपो कार्यालय नेपालगञ्जका प्रमुख दिपकप्रसाद घिमिरेले भारतीय आयल कर्पोरेशनले एक्जीम कोड मागेकाले तेल आपूर्ती रोकिएको बताए ।

‘भन्सारबाट तेल बोकेको ट्यांकरहरु सबै रुपैडियामा छन्, कोड बनाएर पठाइएकाले भित्र्याउने कार्य भइरहेको छ,’ उनले भने, ‘सोमबारसम्म तेल आपूर्तीलाई सहज बनाउनेगरी काम भइरहेको छ ।’ नेपाल आउने क्रममा रहेका तेल बोकेका गाडीहरु कोड मागेका कारण आज भारतमै रहेपनि कर्णाली र लुम्विनी प्रदेशका सबै जिल्लामा भोलीदेखी पेट्रोलको सहज उपलव्धता हुने उनी बताउँछन ।

 

प्रतिक्रिया