नागरिकलाई सहजताका लागि कर छुट गर्दै सल्यानका स्थानीय तह

नागरिकलाई सहजताका लागि कर छुट गर्दै सल्यानका स्थानीय तह

सल्यान : देशभर करको चर्को विरोध भइरहँदा केही स्थानीय तह उदाहरणीय काम गरी रहेका छन् । सानो सानो कुरामा पनि जनताको ढाड सेक्ने गरी कर उठाएको कुरा चली रहँदा केही स्थानीय तह भने अरू भन्दा भिन्न र जनसेवी देखिएका छन् । नवनिर्वाचित जनप्रतिनिधिहरूले विगतका विगतमा लिदै आइरहेको करलाई पनि निशुल्क गरिदिएका छन् ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका, शारदा नगरपालिकाले नागरिकता सिफारिस सेवा निःशुल्क प्रदान गर्ने भएका छन् ।

बनगाड कुपिण्डे नगरपालिकाले यसअघि नागरिकताको सिफारिसमा लिँदै आएको शुल्क अर्को आउँदो आर्थिक वर्षदेखि नलिने भएको छ ।

यसअघि नागरिकता सिफारिसमा तीनसय रुपैयाँ लिँदै आएकोमा आउँदो आर्थिक वर्षबाट नागरिकता सिफारिस निशूल्क गर्ने व्यवस्था गरिएको मेयर कर्ण बहादुर बुढाथोकीले बताए ।

जनताको सहुलियतका लागि प्रत्यक्ष सेवा प्रदान गर्न नागरिकता सिफारिसमा निःशुल्क गरिएको उनको भनाई छ । आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रमबाट नै नागरिकता सिफारिसमा लाग्ने कर हटाउने निर्णय गरिएको बुढाथोकीको भनाई छ ।

यस्तै शारदा नगरपालिकाले भने चालु आर्थिक वर्षको असार १ गतेदेखि नै नागरिकता सिफारिसमा लाग्ने शुल्क हटाएको छ । नगरवासीको सहजताका लागि नागरिकता सिफारिस निःशुल्क गरिएको मेयर प्रकाश भण्डारीको भनाई छ ।

प्रतिक्रिया