पेट्रोलियम अन्वेषणको काम पुनः अघि बढाइँदै, चिनियाँ टोली नेपालमा

पेट्रोलियम अन्वेषणको काम पुनः अघि बढाइँदै, चिनियाँ टोली नेपालमा


काठमाडौं : चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सुरू भएको पेट्रोलियम अनुसन्धान काम पुनः अगाडि बढ्ने भएको छ । त्यसका लागि सात चिनियाँ टोली नेपाल आएको पेट्रोलियम परियोजना अन्वेषण प्रमुख दिनेश कुमार नापितले जानकारी दिए । ‘पेट्रोलियम अन्वेषणको काम अघि बढाउन सात जना चिनियाँ आएका छन्, उनीहरूसँग हाम्रो हिजो साँझ भेट भयो,’ उनले भने ।

उनका अनुसार चिनियाँ टोली अहिले दैलेखमा ड्रिलिङ इक्वीपमेन्ट लैजान सकिने/नसकिने, खर्च के–कति लाग्ने भन्ने विषयमा अध्ययन गरेर फर्कने छन् । वर्खा सकिएपछि भने अन्वेषणका लागि पुनः आउने छन् । अन्वषेषका लागि चिनियाँसँग थप दुई वर्षको समयावधि पनि थपिएको प्रमुख नापितले जानकारी दिए ।

दैलेखको पञ्चकोशी क्षेत्रमा पर्ने श्रीस्थान, पादुका लगाएतका स्थानमा तीन वर्षभित्र पेट्रोलियम पदार्थको अनुसन्धान सक्ने गरी चिनियाँ सरकारसँग सन् २०१९, फेब्रुअरी २८ मा सम्झौता भएको थियो । सम्झौताअनुसार गत फेब्रुअरी २८ मा उक्त सम्झौता सकिएको थियो ।
तीन वर्षभित्र तीन चरणमा काम सक्ने गरी सम्झौता भएको थियो । हालसम्म पहिलो चरणको काम सकिएको छ । पहिलो चरणमा चिनियाँ प्राविधिकहरूले दैलेखको स्थलगत अध्ययन गरेर पेट्रोलियम पदार्थ हुनसक्ने सम्भावित ठाउँ पत्ता लगाएका छन् ।

अध्ययन गर्दा चार सय वर्ग किलोमिटर क्षेत्रफलमा पेट्रोलियम पदार्थ हुन सक्ने अनुमान छ । त्यसमध्ये पनि सबैभन्दा बढी पेट्रोलियम पदार्थ हुने तीन ठाउँ पत्ता लागिसकेको खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् डा. गणेशनाथ त्रिपाठीले जानकारी दिए ।

तीन ठाउँमध्ये पनि बढी सम्भावित एक ठाउँ छ । त्यहाँ चार किलोमिटर गहिरोसम्म ड्रिलिङ गर्ने काम कोरोना महामारीले पूरा हुन सकेको थिएन । यो काम महामारीका कारण करिब दुई वर्ष अघिदेखि स्थगित छ । वर्खा पनि चिनियाँ आउँदा यसलाई निरन्तरता दिइनेछ । छिट्टै ड्रिलिङको काम सकिए पेट्रोलियम पदार्थको मात्रा थाहा पाउन सकिन्छ । अन्वेषण टोलीले जमिनको एक्स–रे गरेर ड्रिल गर्न सकिने सजिलो ठाउँ पत्ता लगाइसकेको छ । ड्रिलिङ गर्दा पनि पेट्रोलियम पदार्थको भण्डार भेटिएन भने काम अघि बढ्दैन र अहिलेसम्मको सबै मेहनत खेर जान्छ ।

नेपालमै उत्पादन गर्दा अहिलेको बजार मूल्यभन्दा सस्तो भएमा मात्रै त्यो आर्थिक रूपमा फाइदाजनक हुन्छ । ‘ड्रिल गरेपछि कति पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लगाउन सकिन्छ,’ उनले भने, ‘खानी भेटिएपछि पनि त्यसको आर्थिक विश्लेषण हुन्छ । त्यसपछि मात्रै उत्पादन गर्ने नगर्ने निर्णय हुन्छ । भण्डार ठूलो रहेछ भने मात्रै उत्पादन सुरू हुन्छ ।’

तेल उत्पादन भने भूगर्भ विभागले गर्दैन । विभागले पेट्रोलियम पदार्थको मात्रा पत्ता लगाउने मात्र हो । सरकारले कुनै अन्य कम्पनी वा संस्थालाई उत्पादनको जिम्मेवारी दिन्छ । नेपाल सरकार, खानी तथा भूगर्भ विभाग र चाइना जियोलोजिकल सर्भेको संयुक्त टोलीले उक्त अनुसन्धान गरिरहेको छ ।

सन् २०१६ मा पेट्रोलियम अन्वेषण सम्झौतामा हस्ताक्षर गर्दै खानी तथा भूगर्भ विभागका तर्फबाट महानिर्देशक डा. सोमनाथ सापकोटा तथा चाइना जियोलजिकल सर्भेको तर्फबाट उपाध्यक्ष वाङ कुन। तस्बिर सौजन्यः खानी तथा भूगर्भ विभाग

लामो समयदेखि खोलाको पानीमा तेलजस्तो चिल्लो पदार्थ तैरिएको भेटिएपछि त्यो तेल हुनसक्ने भन्दै अनुसन्धान थालिएको हो । एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक चीन भ्रमण जाँदा चीन सरकारलाई अनुसन्धानका लागि आग्रह गरेका थिए ।
पेट्रोलियम पदार्थको अन्वेषणका लागि यो नेपालमा भएको पहिलो अध्ययन भने होइन । यसअघि २०४५ सालमा मोरङ बाहुनीमा पेट्रोल खानी खोजी गरिएको थियो । त्यति बेला सेल ट्राइटा कम्पनीले साढे तीन किलोमिटर गहिराइसम्म खन्दा पनि पेट्रोलियम पदार्थ नभेटिएपछि खोजी बन्द भएको थियो ।

विश्वभरि नै पेट्रोलियम पदार्थ भएको अनुमान गरिएको थोरै ठाउँमा मात्रै यो भेटिने गरेको छ । अनुमान गरिएको ठाउँमा दश प्रतिशत मात्रै पेट्रोलियम पदार्थ पाइएको अन्तर्राष्ट्रिय अनुभव छन् । भूगर्भ विभागका महानिर्देशक सुधिर रजौरे पनि विश्वभरि नै ८ देखि १० प्रतिशत मात्रै अनुमान गरिएको ठाउँमा पेट्रोलियम पदार्थ पाइने बताउँछन् ।

तर दैलेखमा तेल भेटिनेमा भने उनी निकै आशावादी छन् । कार्यालयमै राखिएको दैलेखको आधा भाँडो कच्चा तेल देखाउँदै त्यहाँ पेट्रोलियम पदार्थ पाइने आधार बलियो भएको उनले दाबी गरे । भारतको आसाम र पाकिस्तानका केही क्षेत्रमा तेल भेटिएको बताउँदै रजौरेले उस्तै भौगर्भिक संरचना भएकाले नेपालको दैलेखमा पनि तेलको ठूलै भण्डार हुन सक्ने बताए । नेपालको चुरे तथा तराईंको सीमा क्षेत्रमा तेलको भण्डार बढी हुन सक्ने उनको अनुमान छ ।

‘पानीमा पेट्रोलियम पदार्थ तैरिरहेको अवस्थामा भेटिएको थियो । आगोको ज्वाला पनि प्राकृतिक रूपमै बलिरहेको थियो । त्यसैले त्यहाँ पेट्रोलियम पदार्थ भएको पुष्टि हुन्छ,’ उनले भने, ‘त्यहाँको चट्टानको संरचना हेर्दा पनि पेट्रोलियम पदार्थ भएको अनुमान लगाउन सकिन्छ ।’
उनका अनुसार चट्टानबीचमा पर्ने चापले मात्रै पेट्रोलियम पदार्थ बन्छ । विशेषगरी पेट्रोलियम पदार्थ पृथ्वीको सतहमा रहेका सुक्ष्म वनस्पति तथा जीवहरू जमिनमुनि पुरिएर बन्ने हो । जमिनमुनि चाप वा दबाव र लामो समयसम्म हुने रासायनिक प्रतिक्रियाले वनस्पति र जीवहरू पत्रे चट्टानमा परिणत हुन्छन् ।

पत्रे चट्टानमा संकलित जैविक पदार्थ ९० देखि १७५ डिग्री सेल्सियस तापक्रम र उच्च दबावका कारण लाखौं वर्षपछि जैविक र रासायनिक प्रतिक्रियाका कारण पेट्रोलियम पदार्थमा परिणत हुन्छ । नेपाल पनि त्यो सम्भावना रहेकाले पेट्रोलियम पदार्थ पाइने अनुमान बढेको रजैरेको भनाइ छ । दैलेखमा पेट्रोलियम पदार्थ पाइने आधार भए पनि यति नै मात्रामा छ भन्ने पुष्टि भएको छैन । पछिल्लो समय नेपालमा सबभन्दा बढी आयात हुने वस्तु भने पेट्रोलियम पदार्थ नै हो ।

प्रतिक्रिया