सोसेक नेपालको संयोजकत्वमा बालविवाह विरुद्धको साझा अभियान सञ्जाल गठन
दैलेख : दैलेखमा बाल विवाह विरुद्धको साझा अभियान सञ्जाल गठन गरिएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको संयोजकत्वमा सञ्जाल गठन गरिएको हो । बुधवार सोसेक नेपालका उप-कार्यकारी निर्देशक बसन्त श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले सञ्जाल गठन गरेको हो । जिल्लामा विभिन्न संस्थाहरुको प्रतिनीधि सहभागि बैठकले सोसेक नेपाल संयोजक रहनेगरी सञ्जाल गठन गरिएको हो ।
सञ्जालको जिल्ला सह संयोजकमा सेतो गुराँस बाल विकास सेवा दैलेख रहेको छ । यस्तै बाल विवाह विरुद्धको साझा अभियान सञ्जाल दैलेखको सदस्यहरुमा एभरेष्ट क्लब, सेबक दैलेख, सिबियो महासंघ, ठाटीकाँध कृषि तथा पशुपालन सहकारी संस्था, दैलेख युनेस्को केन्द्र, पञ्चकोशी ज्वाला युवा प्रतिष्ठान, महिला शसक्तिकरण मञ्च र इन्सेक रहेका छन् ।
बैठकले दैलेख जिल्लामा बाल विवाहको जोखिम अति नै रहेको र बाल विवाह अन्त्यका लागि स्थानीय सरकारलाई जवाफदेहि बनाउनका लागि दैलेख जिल्लाका सबै स्थानीय सरकारलाई बाल विवाह अन्त्यका लागि आवश्यक क्रियाकलाप सञ्चालन र बाल विवाह अन्त्यका लागि आवश्यक रणनीति तयार गर्न ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको छ ।
दैलेख जिल्लामा बाल विवाह अन्त्यका लागि जिल्लामा सक्रिय संघ संस्थाहरुले आआफ्नो कार्य क्षेत्रमा संस्थाद्धारा सञ्चालित परियोजना तथा कार्यक्रमका गतिविधिहरुसँग समायोजन थरी बाल विवाह विरुद्धको विभिन्न अभियान, जनचेतना अभिबृद्धि तथा कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय समेत बैठकले गरेको छ ।
प्रतिक्रिया