जनता समाजवादी पार्टी फुटको संघारमा

जनता समाजवादी पार्टी फुटको संघारमा

काठमाडौं : जनता समाजवादी पार्टी फुटको संघारमा पुगेको छ। पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव सौहार्दपूर्ण तरिकाले छुट्टिन तयार भएपछि जसपा फुट्ने लगभग निश्चित भएको छ।

बुधबार सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा यादव र भट्टराईबीच पार्टी विवाद समाधानका विषयमा छलफल भएको थियो । उक्त छलफलमा भट्टराईले आफूहरूको विचार र सिद्धान्त मिल्ने भए पनि कार्यकर्ताहरू अन्तरघुलित हुन नसकेकाले सहमतिकै आधारमा छुट्टिने प्रस्ताव यादवलाई राखेका थिए । भट्टराईको प्रस्ताव मान्न यादव पनि तयार भएको जसपाका कार्यकारिणी सदस्य युवराज कार्कीले बताए ।

‘एकले अर्कालाई कारबाही नगरी सहमतिकै आधारमा सौहार्दपूर्ण तरिकाले छुट्टिऔँ भन्ने उहाँको प्रस्ताव छ,’ कार्कीले भने, ‘एकले अर्काले गद्दार र विभाजनकारीको आरोप लगाउनुभन्दा भोलिका लागि सहमतिको ढोका खुलै राख्न दुवै अध्यक्ष तयार भएका छन् ।’

स्रोतका अनुसार दुई अध्यक्ष सांसदहरूलाई समेत पार्टी रोज्न दिने कुरामा सहमत भएका छन् । भट्टराईनिकट सांसद एवं जसपा कार्यकारिणी सदस्य अमृता अग्रहरीले पनि सहमतिमा छुट्टिन दुई अध्यक्ष तयार भएको आफूले सुनेको बताइन् । पछिल्लो समय जसपामा उपेन्द्र र बाबुराम पक्षबीच विवाद चर्किँदै गएको थियो ।

यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम र भट्टराईको नयाँ शक्ति पार्टीबीच २०७६ वैशाखमा एकता भएको थियो। एकता भएपछि संघीय समाजवादी पार्टी बनेको थियो। संघीय समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टीबीच २०७७ वैशाखमा एकता भएर जसपा बनेको थियो।

प्रतिक्रिया