सहमति अनुसार पद नछोडेपछि बागमतीका मुख्यमन्त्री पाण्डे विरुद्ध हस्ताक्षर संकलन

सहमति अनुसार पद  नछोडेपछि बागमतीका मुख्यमन्त्री पाण्डे विरुद्ध हस्ताक्षर संकलन

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे गठबन्धनमा भएको सहमति अनुसार सहजै पद नछोड्ने भएपछि उनीविरुद्ध नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसले हस्ताक्षर संकलन गरेको छ।

गठबन्धनमा आधा कार्यकाल पाण्डे र आधा कार्यकाल नेपाली काङ्ग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । तर,पाण्डेले सहमतिअनुसार मुख्यमन्त्री पद काङ्ग्रेसलाई नछोड्ने बताएपछि उनीविरुद्ध काङ्ग्रेस र माओवादीले हस्ताक्षर नै सङ्कलन गरेका हुन्।

पाण्डे गत कात्तिक ११ गते सत्तारुढ गठबन्धनको नेतृत्व गर्दै नेकपा ९एकीकृत समाजवादी० बाट मुख्यमन्त्री बनेका थिए । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट पास भएपछि काङ्ग्रेसलाई सत्ता सुम्पिने लिखित सहमति गरेका उनले पछिल्लो समय सार्वजनिक रुपमै सरकार परिवर्तन नहुने बताउँदै आएका थिए।

उनी ६ महिनापछि नेतृत्व छाड्ने गरी कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनलाई माओवादीको २३, काङ्ग्रेसको २२, एकीकृत समाजवादीको १३ र जनता समाजवादी पार्टी (जसपा)को एकसहित ५९ सांसदको समर्थन रहेको थियो ।

कांग्रेसले सहमति अनुसार सहजै आफूले सत्ता प्राप्त गर्नुपर्ने माग गरेपनि पाण्डेले भने केन्द्रीय नेतृत्वको निर्देशनपश्चात मात्र पछाडि हट्ने भनेर पन्छिएपछि हस्ताक्षर संकलन गरिएको स्रोतको दाबी छ।

हाल माओवादी र कांग्रेसबाट मन्त्रिपरिषद्मा सहभागी मन्त्री तथा राज्यमन्त्री समेत फिर्ता बोलाउने तयारी भइरहेको स्रोतले जानकारी दियो । बजेट पास भए पछी सबै प्रक्रिया अघि बढ्ने गरी हस्ताक्षर सङ्कलन गरिएको उनको भनाइ छ ।

 

प्रतिक्रिया