कोइराला पक्षधरले देउवालाई रचनात्मक दबाब दिने

कोइराला पक्षधरले देउवालाई रचनात्मक दबाब दिने

काठमाण्डौ : नेपाली कांग्रेस नेता डा. शेखर कोइराला पक्षधर नेताहरूले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई रचनात्मक दबाब (कन्स्ट्रक्टिभ विद्रोह) दिने भएको छन् ।

आज बिहीवार काठमाडौमा भएको कोइराला पक्षीय नेताहरूको भेलाले पार्टी सभापति देउवालाई रचनात्मक दबाब दिनेबारेमा छलफल गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस नेता चन्द्र भण्डारीले बैठकमा देशको आर्थिक, समसामयिक राजनीति, गठबन्धनात्मक विषयहरूमा छलफल गरेको बताए ।

उनका अनुसार छलफलमा पार्टीको आन्तरिक कुरामा पनि जोड दिएको थियो । उनले भने, ‘देशको अहिलेको समसामयिक राजनीति, गठबन्धन, देशको आर्थिक अवस्था र आउँदै गरेको चुनावको बारेमा छलफल भएको छ । पार्टीको आन्तरिक कुरामा पनि हामीले छलफल गरेका छौँ । आजको बैठकमा कन्स्ट्रक्टिभ विद्रोहको पनि कुरा भएको छ ।’

नेता भण्डारीले छलफलमा राजनीतिक सोचाइमा परिवर्तन र त्यसको आधारमा आफ्नो समूहको विचारलाई कसरी अघि बढाउने भन्नेबारेमा पनि छलफल भएको बताए । बैठक भोलि (शुक्रवार) २ बजेपछि फेरि बस्ने गरी स्थगित भएको छ ।

प्रतिक्रिया