लक्षित वर्गको जीवनस्तर उकास्न गाउँपालिका साझेदारी गर्न तयार छ : उपाध्यक्ष खड्का

लक्षित वर्गको जीवनस्तर उकास्न गाउँपालिका साझेदारी गर्न तयार छ : उपाध्यक्ष खड्का

दैलेख : जिल्लाको भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्काले लक्षित वर्गको जीवन स्तर उठाउने कार्यक्रमहरुलाई गाउँपालिकाले आफ्नो श्रोतहरु समेत साझेदारी गरेर सहकार्य गर्न तयार रहेको बताएकी छिन् । वल्र्डभिजन इण्टरनेशनल नेपालको सहयोगमा जोखिममा परेका बालबालिका सहयोग सम्वन्धी विकास परियोजनाको अवस्था अध्ययन गर्न छनौट भएका सामाजिक परिचालकहरुको तीन दिने तालिम आइतवार समापन कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

साझेदार गैरसरकारी संस्था सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका अध्यक्ष हिरासिंह थापाले तथ्यपर तथ्यांक र अवस्थाको बिश्लेषण गर्न सके मात्र परियोजनाको मोडेल तयार हुने भएकोले सावधानीपूर्वक सूचना लिन सामाजिक परिचालकहरुलाई आग्रह गरे । अध्यक्ष थापाले समाजमा भइरहेका महिला माथि हुने हिंसा, छाउपडी प्रथा, बालविवाह, जातीय विभेद लगायतका घटनाका पीडितहरुको न्यायको निम्ति पहल गर्न सामाजिक परिचालकहरुलाई आग्रह गरे ।

वल्र्डभिजन इण्टरनेशनल नेपालले जोखिममा परेका बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण र परिवारजनको आर्थिक उद्यमीशीलता सम्वन्धी अवस्था अध्ययन गर्न जनशक्तिका रुपमा अहिलेलाई ५ वटा वडामा अवस्था अध्ययन गर्न लागेको हो ।

भगवतीमाई गाउँपालिकाका वडा नंं २, ३, ४, ५ र ६ बाट हरेक वडाबाट एक जना महिला र एक पुरुष समेत छनौट गरिएका १० सामाजिक परिचालकहरुले अवस्था अध्ययन गर्न समुदायका सरोकारवालासंग विभिन्न चरणका छलफल गर्नेछन् ।

सामाजिक सेवा केन्द्र (सोसेक)का प्रतिनिधि समेत सहभागी अवस्था अध्ययन कार्यबाट आएको निश्कर्षको आधारमा जोखिममा परेका बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण सम्वन्धी परियोजना तयार गरिने बताइएको छ ।

उक्त तालिमको वल्र्डभिजन इण्टरनेशनल नेपालका मूल्यांकन तथा अनुसन्धान व्यवस्थापक बद्री दुलाल र बाल स्पोन्सरसिप कार्यक्रम व्यवस्थापक प्रतीज्ञा खालिङ्ग लगायतले सहजीकरण गरेका थिए । नेपालका १५ जिल्लामा काम गरिरहेको वल्र्डभिजन इण्टरनेशनल नेपालले दैलेखमा पहिलो पटक भगवतीमाई गाउँपालिकामा परियोजना सञ्चालन गर्न लागेको हो ।

 

प्रतिक्रिया