नागरिक समाज संघ संस्थाहरुलाई तालिम

नागरिक समाज संघ संस्थाहरुलाई तालिम

दैलेख : दैलेखको दुल्लु नगरपालिकाका नागरिक समाज संघ संस्थाहरुलाई तालिम प्रदान गरिएको छ । नगरपालिकाको वडा नम्बर १, २, ३, ४ र ९ का नागरिक समाज संघ संस्थाहरुलाई तीन दिने तालिम प्रदान गरिएको हो । नागरिक समाज संघ संस्थाहरुको लागि विपद् जोखिम न्यूनिकरण र जलवायू परिवर्र्तन अनुकुलन पैरवी रणनीति योजना तयारी तालिम प्रदान गरिएको हो ।

सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल जिल्ला महासंघ दैलेखको आयोजना तथा दुल्लु नगरपालिका, यूरोपियन यूनियन, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, डिसिए नेपाल, लिवर्ड, एनएनएसडब्लुएको समन्वय तथा सहयोगमा तालिम सञ्चालन गरिएको हो । तालिममा २० वटा नागरिक समाज संघ संस्थाका सदस्यहरुसहित ३२ जना सहभागि थिए ।

जलवायू परिवर्तनको असर, प्रभाव र विपद् जोखिम न्यूनिकरण गर्न नागरिक समाज संघ संस्थाहरुको सदस्यहरुको लागि योजना निर्माण तथा स्थानीय तहमा वकालत र पैरवी कसरी गर्न सकिन्छ भन्नेबारे जानकारी दिन तालिम प्रदान गरिएको हो । तालिमको प्रशिक्षण सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल जिल्ला महासंघ दैलेखका पद्मा योगी र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका उपकारी कार्यकारी निर्देशक बसन्त कुमार श्रेष्ठले गरेका थिए ।
असार २३ गते उद्घाटन तालिम असार २५ गते शनिवार सकिएको हो । तालिम उद्घाटन कार्यक्रममा दुल्लु नगरपालिकाका मेयर भरतप्रसाद रिजालले जलवायू परिवर्तनको असर, प्रभाव र विपद् जोखिम न्यूनिकरण गर्न नागरिक समाज संघ संस्थाहरुले निर्माण गरेको योजनामा नगरपालिकाले प्राथमिकताका साथ काम गर्ने बताएका थिए ।

दुल्लु नगरपालिकामा यूरोपियन यूनियनको आर्थिक सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख, डिसिए नेपाल, लिवर्ड, एनएनएसडब्लुएको कन्सोर्टियम पार्टनरसिपमा जलवायु समानुकुलन र आर्थिक समृद्धिका लागि समावेशी नागरिक समाज संघ संस्थाहरुको क्षमता अभिवृद्धि (उत्थान) परियोजना सञ्चालित छ ।

परियोजनाले  नागरिक समाज संघसंस्थाहरुको अर्थपूर्ण सहभागिताद्धारा समावेशी, दीगो र जलवायु समानुकुलित आर्थिक उन्नतीमा जोड दिनका साथै नेपालको कर्णाली र सुदूरपश्चिम प्रदेशका स्थानीय सरकारहरुलाई उक्त कार्यका लागि जवाफदेहि बनाउने उदेश्य लिएको छ ।

परियोजनाले मानव अधिकारको निरन्तर अभ्यास र जलवायुमैत्री, स्थानीय शासन तथा कार्यक्रमको कार्यान्वयन गर्नको लागि नागरिक समाज संस्थाहरुको अर्थपुर्ण सहभागिता र तिनका सञ्जाल, संगठन र महासंघको क्षमता अभिवृद्धि हुने, नागरिक समाज संघसंस्थाहरुको सहयोगमा जलवायुमैत्री कृषि प्रविधिहरुको प्रदर्शन, प्रवद्र्धन र थालनीमा जोड दिदै लक्षित समुहको जीविकोपार्जनमा सुधार हुने र जलवायुमैत्री कृषि प्रविधिहरुको प्रवद्र्धन गर्न महिला, युवा तथा सीमान्तकृत समुहहरुको अर्थपुर्ण सहभागिताका लागि उपयुक्त वातावरणको निर्माण गरिने विशिष्ट उद्देश्यहरु सहित परियोजनाले विभिन्न क्रियाकलाप सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया