बाढीका कारण डोल्पाका २४ घरधुरी विस्थापित

बाढीका कारण डोल्पाका २४ घरधुरी  विस्थापित

फाइल तस्बीर

सुर्खेत : ठूलीभेरी नगरपालिका–३ डोल्पाका २४ घरधुरी बाढीका कारण विस्थापित भएका छन् । सदरमुकाम दुनै स्थित शान्ति टोलमा बाढी पहिराले २४ परिवारलाई विस्थापित गराएको हो ।

ठुली भेरी नगरपालिका–३ शान्ति टोलमा अचानक आएको बाढी र पहिराले नन्नाकुमारी विकको एक तले कच्ची घर पूर्ण रूपमा क्षति पुर्याएको छ भने धनबहादुर घर्ती, झुमा विक, उर्मिला विश्वकर्मा, मोतीलाल रोकाया, मानबहादुर रोकायाको घर र खेतबारी बगाएको छ ।

यस्तै कर्णबहादुर रोकाया, मायादेवी बुढा, हस्त विक, पदम रोकाय, तिउली विकको घर र खेतबारी पनि बगेको प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले जानकारी दिए । उनका अनुसार ती सबैको घर खेत, अन्न पानी, लत्ताकपडा, सुनचाँदीसमेत गरी झन्डै रु एक करोड ५० लाख बराबरको क्षति भएको पाइएको प्रहरीले सार्वजनिक गरेको क्षति मूल्याङ्कन विवरणमा उल्लेख छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद सत्य पहाडीले दुनैमा बाढीका कारण भएको क्षतिको बारेमा जानकारी गराएका थिए । सदरमुकाम दुनै उच्च जोखिममा भएको भन्दै दुनै बचाउ अभियानमा सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिएका थिए ।

भेरी नदीको कटानका कारण दुनै बजार जोखिममा पर्दै आएको छ । यसभन्दा अगाडि गरिएको काम समेत परिणाममुखी नहुँदा समस्या हुँदै आएको सांसद पहाडीको भनाइ थियो ।

प्रतिक्रिया