शिक्षकले कक्षाकोठामै काटिदिए विद्यार्थीको कपाल

शिक्षकले कक्षाकोठामै काटिदिए विद्यार्थीको कपाल

जुम्ला : जुम्लाको तिला गाउँपालिका–८ स्थित देउराली मावि जुम्लाकोटका प्रधानाध्यापक रामभजन यादवले कक्षाकोठामै विद्यार्थीको कपाल काटिदिएका छन् । उनले विद्यार्थीको असहमतिमै जबरजस्ती कपाल काटिदिएका हुन् । पटक–पटक कपाल काट्न भन्दा पनि अटेर गरेको भन्दै कक्षा ९ मा अध्ययनरत ३ जना विद्यार्थीको कपाल मुण्डन गरिएको थियो ।

विद्यार्थीले अर्को दिन कपाल काटेर आउने भनिरहे पनि उनले जबर्जस्ती कपाल काटिदिएका थिए । दुई जना विद्यार्थीलाई कक्षाकोठाभन्दा बाहिर पठाइएको थियो । विद्यार्थीले जबर्जस्ती प्रधानाध्यापकले कपाल मुण्डन गरिदिएको भिडियो विद्यार्थीले सार्वजनिक गरेका छन् । भिडियोमा तीन जना विद्यार्थीको जबर्जस्ती कपाल काटेर छोडेको,दुई जना विद्यार्थीले अटेरी गरेपछि कक्षा कोठाबाट निकालिएको र अन्यलाई धम्की दिएर कपाल मुण्डन गरेको देखिन्छ । प्रधानाध्यापकको जसले भनेको मान्दैन् त्यसले विद्यालयमा पढ्नसमेत नपाउने धम्की दिएका थिए ।

‘हामीले भोलि कपाल काटेर आउँछौं भनेका थियौं । प्रधानाध्यापकले जबर्जस्ती कपाल काटिदिनुभयो,’ एक विद्याथीले भने, ‘कपाल मुडिदिएपछि सबै विद्यार्थी हाँसिदिए । निकै लाज लाग्यो । अब विद्यालय जान पनि जान सकिने अवस्था छैन ।’

प्रधानाध्यापक रामभजन यादव भने गलत नियतले कपाल नकाटिदिएको जिकिर गर्छन् । ‘धेरै पटक कपाल काटेर आउनु भनिएको थियो,’ उनले भने,‘जति सम्झाइबुझाइ गर्दा पनि नमानेपछि कक्षाकोठामै कपाल काटिदिएका हो । बरु सामाजिक सञ्जालमा भिडियो हाल्नु गलत थियो ।’

उनले विद्यार्थीलाई अनुशासनको पालना गराउनको लागि कपाल काटिदिएको बताए । स्कुल पोसाक लगाउन र सरसफाइ गर्न भनिएको उनले बताएका छन् । तीव्र आलोचना भएपछि विद्यालयको फेसबुक पेजबाट पोस्ट गरिएका भिडियो हटाइएको छ । kantipur

प्रतिक्रिया