डुङ्गेश्वर गाउँपालिकाले करार कर्मचारीको सम्झौता नविकरण नगर्ने

दैलेख : जिल्लाको डुङ्गेश्वर गाउँपालिकाले करारमा कार्यरत कर्मचारीहरुको सम्झौता नविकरण नगर्ने भएको छ । असार ३० गते बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णय नं. ३ अनुसार गाउँपालिकाबाट तलब भत्ता भुक्तानी हुने करारमा कार्यरत कर्मचारीहरुको साउन १ गतेबाट करार सम्झौता नविकरण नहुने भएको प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर डि.सी.ले बताए ।
गाउँपालिकाले करार सम्झौता नविकरण नहुने बारे गाउँपालिका सबै शाखा, वडा कार्यालय, सामुदायिक स्वास्थ्य इकाई र सामुदायिक विद्यालयलाई पत्राचार गरेको छ । प्रमुख प्रशासकीय अधिकृत डि.सी.का अनुसार सबै वडा कार्यालयमा कार्यरत बगैंचेहरु, वडा नम्बर ५ र ६ को कार्यालयमा कार्यरत सामाजिक परिचालक बाहेक अन्य सबै वडामा कार्यरत सामाजिक परिचालक, गाउँपालिकामा कार्यरत हलुका स्वर्पियो चालक एक जना, विद्यालय तर्फतको गेटपाले, माध्यामिक विद्यालयमा रहेका महिला कार्यालय सहयोगी र कम्प्युटर शिक्षकको करार सम्झौता नविकरण नहुने भएको हो ।
यस्तै गाउँपालिकामा कार्यरत पिटौली र फिल्ड सुपरपाइजर रकचना खानेपानी आयोजनामा कार्यरत पलम्बर र हेरालु र सामुदायिक स्वास्थ्य इकाई वडा नम्बर ४ मा कार्यरत अहेवको समेत करार सम्झौता नविकरण नहुने प्रमुख प्रशासकीय अधिकृत डि.सी.ले बताए । गाउँपालिकाले करार सम्झौता नहुने कर्मचारीहरुका लागि आफ्नो जिम्मामा रहेको नगदी, जिन्सी सामग्री बरबुझारथ गर्न समेत भनेको छ । गाउँ कार्यपालिकाको बैठकको निर्णय विपरित कार्यालयमा हाजिर भएमा कार्यालयबाट तलब भत्ता भुक्तानी नहुने समेत गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया