डुङ्गेश्वर गाउँपालिकामा तालाबन्दी

डुङ्गेश्वर गाउँपालिकामा तालाबन्दी


दैलेख : जिल्लाको डुङ्गेश्वर गाउँपालिकामा तालाबन्दी भएको छ । करारमा कार्यरत कर्मचारीलाई हटाएको भन्दै गाउँपालिकामा तालाबन्दी गरिएको हो । गाउँपालिकामा करारमा कार्यरत कर्मचारीहरुको करार सम्झौताको म्याद थप हुनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका कर्मचारीहरुले गाउँपालिकामा तालाबन्दी गरेका हुन् । करारका कर्मचारीलाई हटाउने निर्णय सच्चाउनुपर्ने माग राख्दै करारका कर्मचारी र नेपाली काँग्रेसले आन्दोलन थालेका हो । जागिरबाट हटाईएका करारका कर्मचारी तथा राजनीतिक दलहरुले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको डुङ्गेश्वर गाउँपालिका–२ का वडाध्यक्ष यामबहादुर विस्टले बताए ।

आन्दोलनमा गाउँपालिकाले जागिरबाट हटाईएका करार कर्मचारीको भन्दा बढि नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुको उपस्थिती देखिएको स्थानीयले बताएका छन् । ‘गाउँपालिकामा नेपाली काँग्रेसले ज्ञापनपत्र बुझाउन आएको थियो, अहिले जर्बजस्ती तालाबन्दी गरिएको छ, उपाध्यक्ष कलावती न्यौपानेले भनिन् । उनले करारका कर्मचारीहरुले आफ्नो मागहरु शान्तिपूर्ण ढंगबाट राख्न समेत आग्रह गरिन् । उनले करारमा कार्यरत कर्मचारीहरुको सम्झौता नविकरण नगर्ने निर्णयविरुद्धको आन्दोलनलाई राजनीतिकरण गर्न नहुने बताइन् ।

असार ३० गते बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णय नं. ३ अनुसार गाउँपालिकाबाट तलब भत्ता भुक्तानी हुने करारमा कार्यरत कर्मचारीहरुको साउन १ गतेबाट करार सम्झौता नविकरण नहुने भएको प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर डि.सी.ले बताए । प्रमुख प्रशासकीय अधिकृत डि.सी.का अनुसार सबै वडा कार्यालयमा कार्यरत बगैंचेहरु, वडा नम्बर ५ र ६ को कार्यालयमा कार्यरत सामाजिक परिचालक बाहेक अन्य सबै वडामा कार्यरत सामाजिक परिचालक, गाउँपालिकामा कार्यरत हलुका स्वर्पियो चालक एक जना, विद्यालय तर्फतको गेटपाले, माध्यामिक विद्यालयमा रहेका महिला कार्यालय सहयोगी र कम्प्युटर शिक्षकको करार सम्झौता नविकरण नहुने भएको हो ।

यस्तै गाउँपालिकामा कार्यरत पिटौली र फिल्ड सुपरपाइजर रकचना खानेपानी आयोजनामा कार्यरत पलम्बर र हेरालु र सामुदायिक स्वास्थ्य इकाई वडा नम्बर ४ मा कार्यरत अहेवको समेत करार सम्झौता नविकरण नहुने प्रमुख प्रशासकीय अधिकृत डि.सी.ले बताए । गाउँपालिकाले करार सम्झौता नहुने कर्मचारीहरुका लागि आफ्नो जिम्मामा रहेको नगदी, जिन्सी सामग्री बरबुझारथ गर्न सूचना जारी गरेको थियो । निर्णय अनुसार गाउँपालिकामा विभिन्न पदमा करारमा कार्यरत ४२ जना कर्मचारीहरुको करार सम्झौता नविकरण नहुने देखिन्छ ।

प्रतिक्रिया