गुराँस गाउँपालिकाका आन्दोलित करार कर्मचारी धर्नामा

गुराँस गाउँपालिकाका आन्दोलित करार कर्मचारी धर्नामा

दैलेख : जिल्लाको गुराँस गाउँपालिकाका करार कर्मचारीले आन्दोलनलाई जारी राखेका छन् । करार कर्मचारीहरुको म्याद नथप्ने गाउँपालिकाले निर्णय गरेपछि उनिहरु आन्दोलित भएका हुन् । म्याद थप नभएसम्मको लागि अन्दोलन जारी रहने उनिहरुको भनाई छ । करार सेवामा कार्यरत कर्मचारीहरुले सोमबार पालिका परिसरमा धर्ना दिएका छन् ।

करार कर्मचारीहरुको आन्दोलनलाई विभिन्न पेशा संघसंगठनहरुले पनि ऐक्यबद्धता जनाएका छन । म्याद थप नभएसम्म आफुहरुको आन्दोलन जारी रहने कर्मचारी खम्बिरा केसीले जानकारी दिइन् । पालिकाले नियुक्त गरेका करार कर्मचारीसहित तत्कालिन जिल्ला विकास समितिबाट नियुक्त भएर गाउँपालिकामा कार्यरत कर्मचारीहरुको समेत म्याद थप नगर्ने निर्णय गाउँपालिकाले गरेको छ ।

कर्मचारीहरु असार ३१ गतेबाट आन्दोलित बनेका हुन् । उक्त दिन भएको शान्तिपूर्ण आन्दोलन झडपमा परिणत भएको थियो । प्रहरीले लाठी चार्ज गरेपछि आन्दोलित कर्मचारीहरुले समेत प्रहरीमाथी ढुंगा प्रहार गरेका थिए । लगत्तै प्रहरीले गोली चलाएको थियो । । प्रहरीको गोली लागेर बखतबहादुर खत्री र भवानीप्रसाद भट्टराई घाइते भएका छन् । उनिहरुको कर्णाली प्रदेश अस्पतालमा उपचार भईरहेको छ ।

गुराँस गाउँपालिकाको असार २९ गते सम्पन्न गाउँसभाको १० औँ अभिवेशनले करार कर्मचारीको म्याद नथप्ने निर्णय गरेको थियो । अधिवेशनको निर्णय नं. ८ अनुसार गाउँपालिकाबाट तलब भत्ता भुक्तानी हुने सम्पूर्ण करार तथा ज्यालादारी कर्मचारी, शिक्षक, विद्यालय कर्मचारी तथा बाल विकास सहजकर्ताहरुको करार सम्झौता साउन १ गतेबाट नविकरण नहुने उल्लेख छ ।

गाउँपालिकामा कार्यरत कर्मचारीको करार सम्झौता पालिकाको कार्यबोझ, राजश्व क्षमता, खर्चको आकार, स्थानीय आवश्यकता, सेवा करारमा नियुक्त कर्मचारीहरुको कार्य सम्पादन सन्तोषजनक नभएको र कर्मचारी समायोजन तथा लोकसेवा आयोगबाट समेत स्थायी कर्मचारीहरु सिफारिस भई रित्तः दरबन्दीमा स्थायी पदपुर्ती भईसकेको र केहि हुने क्रममा रहेका कारण नविकरण गर्न नसकिने निर्णय गरिएको प्रवत्ता ओलीले बताए ।

छानविन समिति गठन

गुराँस गाउँपालिकामा भएको घटनाको छानविन गर्न समिति गठन गरिएको छ । शनिवार सिडियो हरि प्याकुरेलको अध्यक्षमा बसेको सर्वदलिय बैठकले समिति गठन गरेको हो ।

समितिले अनुसन्धान कार्यविधि निर्धारण गरेर १५ दिनभित्र प्रतिवेदन बुझाउने उनले बताए । समितिले प्रतिवेदन दिएपछि सोही आधारमा कानूनी कारवाही हुने सिडियो प्याकुरेलको भनाई छ । समितिले घटनाको छानविन थालिसकेको सदस्य यज्ञराज थापाले बताए । आइतवार घाइतेहरुसँग भेट गरिएको उनले बताए ।

प्रतिक्रिया