किशोरीहरुका लागि आत्मरक्षा अनुशिक्षण

किशोरीहरुका लागि आत्मरक्षा अनुशिक्षण

दैलेख : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा शनिवार दैलेख सदरमुकाममा ‘किशोरीहरुका लागि आत्मरक्षा अनुशिक्षण’ कार्यक्रममा भएको छ । अधिकार २ परियोजनाको आयोजना उक्त कार्यक्रम भएको हो । सहजकर्ता सुनिता सुनारले किशोरीहरु विद्यालय जाँदा, मेलापात जाँदा वा जहाँकहीँ असुरक्षित भइरहेको अवस्था आत्मरक्षा तालिमले सावधानी र आइपर्दा सुरक्षा सजगता बढाउने बताइन् ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले सावधानी अपनाउदा पनि बलात्कार घटना भइहालेको अवस्थामा हरेक घटनामा कानूनी प्रक्रिया बढाउन सके अपराध रोकथाम र शान्ति अमनचैन कायम गर्न सकिने बताए ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को कर्णाली प्रदेशमा सञ्चालन गरेको ‘अधिकार–२’ परियोजनाबाट प्रशिक्षक प्रशिक्षण प्राप्त आत्मरक्षा सहकर्ता सुनिता सुनारले तयार पारेको स्वयम्सेवकहरु प्रतिमा थापामगर, कृष्णा थापा र रोशनी थापामगर समेत चार जनाको टोलीले यौनजन्य दुव्र्यहार र बलात्कार प्रयास भएको अवस्थामा जोगिने सीपको अभ्यास प्रस्तूती गरेको थियो ।

यौनजन्य दुव्र्यहार र बलात्कारबाट जोगिन अपनाउनुपर्ने सावधानी, मौखिक प्रतिवाद, कुटनीतिक संवाद शैली र कानूनी उपचार चार क्षेत्रको उपयोगिता विषयमा चर्चापछि बदनियतले गरिने शारीरिक स्पर्शदेखि बलात्कार प्रयासको बेला जागिने ११ वटा सीप विषयमा प्रयोगात्मक अभ्यास गरिएको थियो ।

इन्सेकको अधिकार २ परियोजना दैलेखको दुल्लू र आठबीस नगरपालिकामा लैंगिक हिंसा र जातीय विभेद रोकथामका निम्ति गतिविधि गरिरहेको छ । यही परियोजना अन्तरगतको ‘किशोरीहरुका लागि आत्मरक्षा अनुशिक्षण’ अभियान भने जिल्लाका अरु पालिकाहरुमा पनि सञ्चालन भइरहेका छन् ।

प्रशिक्षक प्रशिक्षण प्राप्त आत्मरक्षा सहकर्ता सुनिता सुनारले तयार पारेको स्वयम्सेवकहरु प्रतिमा थापामगर, कृष्णा थापा र रोशनी थापामगर समेत चार जनाको टोलीले अघिल्लो हप्ता भगवतीमाई गाउँपालिकाको बेस्तडामा अनुशिक्षण गरेको थियो ।

भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्का थापाले किशोरीका लागि आत्मरक्षा सीप जीवन उपयोगी भएको बताएकी थिइन् । उनले बेस्तडामा पहिलो पटक भएको ‘किशोरीहरुका लागि आत्मरक्षा अनुशिक्षण’लाई इन्सेकसंगको सहकार्यमा गाउँपालिकाको नीति योजना कार्यक्रममा समावेश गरेर लिने प्रतिवद्धता व्यक्त गरिन् । जन्मदिने बाबु र दाजुभाईबाट समेत असुरक्षित हुनुपरेको कैयौं घटनाहरुले हरेक किशोरीलाई आत्मरक्षाको ज्ञान हुनुपर्ने गाउँपालिका उपाध्यक्ष खड्का थापाले आवश्यकता दर्शाइन् ।
शनिवार दैलेख सदरमुकाममा गरिएको कार्यक्रममा ३० र बेस्तडाको कार्यक्रममा ८२ जनाको सहभागिता थियो । सहभागी किशोरीहरुले उत्साहका साथ अनुशिक्षण कार्यक्रममा आफैले अभ्यास गरेका थिए । आइतवार विहान नारायण क्याम्पसमा अध्ययनरत छात्राहरुका लागि अनुशिक्षण गरिएको बताईएको छ ।

प्रतिक्रिया