आकाशे ताल, हिउल्सा ताल र दूधकुण्डलाई पर्यटकीय गन्तव्य बनाउन वडाको पहल

आकाशे ताल, हिउल्सा ताल र दूधकुण्डलाई पर्यटकीय गन्तव्य बनाउन वडाको पहल

जुम्ला :  जिल्लाको गुठिचौर गाउँपालिकामा रहेका आकाशे ताल, हिउल्सा ताल र दूधकुण्डलाई पर्यटकीय गन्तव्य बनाउन वडाले पहल गर्ने भएको छ।

गाउँपालिकाको वडा नम्बर १ मणिसाँघुबाट डेढ दिनको दूरीको चार हजार ७०० मिटरमा अवस्थित आकाशे ताल, चार हजार ३०० मिटरको हिउल्सा ताल र चार हजार ६०० मिटर उचाइमा रहेको दूधकुण्ड पर्यटकको पर्खाइमा छन् ।

यी ताल सात वर्षअघि चौरी गोठालाले पत्ता लगाएका थिए । ती ताल रहेको क्षेत्रमा हालै वडाध्यक्ष अर्जुनकुमार महताराको टोली अवलोकन गरेर फर्केको छ ।

‘यसअघि चौरी गोठाला मुस्किलले त्यहाँ पुगेका रहेछन्’,वडाध्यक्ष महताराले भने, ‘त्यो पनि चौरी हराउँदा खोज्दै जाने क्रममा ताल देखिएको रहेछ ।’

महताराका अनुसार डोल्पा नजिक पर्ने उक्त तालमा मणिसाँघु हुँदै घाट ओडार, दुध कुण्डली र हिउल्सा ताल भएर आकाशे तालमा पुगिन्छ। तालको उत्तरपट्टि डोल्पाको जगदुल्ला हिमाल पर्छ ।

ताल पत्ता लगाएकाय स्थानीय साङ्बो गुरुङका अनुसार २०७२ सालमा चौरी खोज्दै उनी तालमा पुगेका हुन् । सजिलै मान्छे नपुग्ने र त्यसको महत्त्वबारे थाहा नभएकोले पनि आकाशे तालको कुरा बाहिर आउन नसकेको उनको भनाइ छ।

‘आकाशको जस्तो नीलो रंग भएकोले त्यसलाई आकाशे ताल भनिएको हो’, उनले भने, ‘तिब्बती भाषामा यसलाई माहोङ नाम्चो भनिन्छ।’। वडाध्यक्ष महतारालेपर्यटकको सहज पहुँच एवं आवतजावतका लागि त्यहाँ सडक पुग्न आवश्यक रहेको बताए ।

‘आकाशे तालसम्म पुग्ने बाटो निर्माणका लागि करिब ७० लाख बजेट लाग्ने अनुमान गरिएको छ’, महताराले भने, ‘यो बजेट प्रदेश सरकारबाट प्राप्त गर्ने अपेक्षा गरेका छौँ ।’

कान्छो कैलाश पर्वतका रूपले चिनिने यो तालको शिरमा दूधकुण्ड हिमाल अवस्थित छ । शिरमा हिमाल, त्यसको तल कालापत्थर र तालको वरिपरि हरियो बुट्यान छ। निकै मनमोहक देखिने उक्त ताल घुम्न एक घण्टा लाग्ने वडाध्यक्ष महताराले जानकरी दिए ।

प्रतिक्रिया