नेपालमा बाघको संख्या ३५५ पुग्याे

नेपालमा बाघको संख्या ३५५ पुग्याे

काठमाडौँ : नेपालमा बाघको संख्या ३ सय ५५ पुगेको छ । अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले चौंथो राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गरेका हुन् । गत मंसिर १९ गते सुरू भएर फागुन २८ गते बाघ गणना सम्पन्न भएको थियो ।

बाघको संख्या ३ सय ५५ पुगेसँगै नेपालले सन् २०२२ सम्ममा संख्या दोब्बर बनाउन गरेको संकल्प पनि पूरा भएको छ । सबैभन्दा धेरै बाघ चितवनमा राष्ट्रिय निकुञ्जमा पाइएका छन् । यहाँ १२८ वटा बाघ छन् । त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ बाघ पाइएका छन् । बाँकेमा २५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ वटा बाघ पाइएका हुन् ।

बाघ गणनाका लागि चितवन-पर्सा, बाँके-बर्दिया र शुक्ला-लालझाडी-जोगबुढा गरेर तीनवटा कम्पलेक्समा विभाजन गरेर गणना गरिएको थियो । बाघ गणनामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ‘टाइगर एन्ड प्रे बेस मोनिटरिङ प्रोटोकोल,२०१७ ‘ले निर्दिष्ट गरे अनुसार ‘क्यामेरा ट्रायापिङ’ र ‘अकुपेन्सी सर्भे विधि’ अपनाएर गरेको थियो ।

नेपालले सन् २०१० मा रुस को सेन्ट पिटर्सवर्गमा बाघ पाइने देशहरूले दोब्बर बनाउने संकल्प गर्दै महत्त्वपूर्ण निर्णय गरेका थिए । नेपालले यो लक्ष्य सन् २०१८को गणनामा झन्डै हासिल गरेको थियो । सन् २०१० सम्म नेपालमा १२१ बाघ थिए, सन् २०१३ को गणनामा १९८ पुगेको थियो भने सन् २०१८ मा बाघको संख्या २३५ पुगेका थिए । सन् २०१८ को गणनामा चितवनमा ९३, बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा बाघ पाइएको थियो ।

नेपाल बाहेक भारत, चीन, भुटान, रुस, ब‌ंगलादेश, भियतनाम, म्यानमार, मलेसिया, इन्डोनेसिया,थाइल्यान्ड र लाओसमा पाटे बाघ पाइन्छन् ।

नेपालमा बाघको सं‌ख्या बढेसँगै यिनको व्यवस्थापन,मानव वन्यजन्तु द्वन्द्व न्यूनिकरण,बासस्थान सुधारलगायत अन्य विविध विषय चुनौती बनेका छन् । मध्यवर्ती क्षेत्रका मानिसहरु घाँस दाउरा,निहुरो टिप्न र गाइभैंसी चराउन जाने क्रममा सामुदायिक वनभित्रै बाघको आक्रमणमा पर्ने गरेका छन् । उनीहरुलाई जंगल जाने वातावरणा नबनाउनका लागि सरकारले वैकल्पिक उपायको व्यवस्था मिलाउने किसिमका कार्यक्रमहरू पनि आवश्यकता देखिएको छ । बाघको संख्या दोब्बरभएसँगै सरकारले बाघ विशेष कार्यक्रम पनि ल्याउने तयारी गरेको छ ।

प्रतिक्रिया