कर्णाली प्रदेशभर प्रमुख कृषि बाली र उत्पादनमा १.८१ प्रतिशतले वृद्धि

कर्णाली प्रदेशभर प्रमुख कृषि बाली र उत्पादनमा १.८१ प्रतिशतले वृद्धि

सुर्खेत :  कर्णालीमा आर्थिक वर्ष २०७७/०७८ मा प्रदेशभर प्रमुख कृषि बाली र उत्पादनमा १.८१ प्रतिशतले बृद्धि भएको छ ।

गत आर्थिक वर्षमा यो संख्या ११.२१ प्रतिशत रहेको थियो । नेपाल राष्ट्र बैक सुर्खेत कायालयले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन २०७८ मा कर्णाली प्रदेशभरको समग्र कृषि बाली र उत्पादनमा बृद्धि भएको देखाएकोे हो ।

आर्थिक वर्ष २०७७/०७८ मा बैंकले कणरलीका १० वटै जिल्लामा गरेको आर्थिक सर्वेक्षणका अनुसार अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को तुलनामा यो आर्थिक वर्षमा प्रदेशभर समग्र कृषि बाली ढाकेको क्षेत्रफल ४.६८ प्रतिशतले बढेको देखाएको छ । जसमा खाद्यबाली तथा अन्य बालीले ४.५२ प्रतिशत, तरकारी तथा बागवानी ३.३ प्रतिशत र फलफूल तथा मसलाजन्य बाली ७.५४ प्रतिशतले बढेको सर्वेक्षणले देखाएको छ ।

चार जिल्ला जुम्ला, मुगु, हुम्ला र डोल्पामा गैरस्थलगत तथा ६ जिल्लाहरु सुर्खेत, दैलेख, सल्यान, जाजरकोट, रुकुमपश्चिम र कालिकोटमास्थलगत अनुगमनका आधारमा आर्थिक सर्वेक्षण गरिएको थियो । जस अनुसार प्रमुख बालीमध्ये धान ०.४० प्रतशतले बृद्धि भएको छ, भने मकै, गहुँ र कोदो क्रमश ६.५७ प्रतिशत, ०.२१ प्रतिशत र २.६९ प्रतिशतले बृद्धि हुँदा जौ बाली भने ३.२६ प्रतिशतले घटेको छ ।

यस्तै, यस वर्ष आलु र भटमासको पनि उत्पादनमा बृद्धि भएको छ । आलु ९.९० प्रतिशतले बृद्धि हुँदा भटमास २७.७० प्रतिशले बढेको छ । यस्तै तरकारी र फलफूलको उत्पादनमा समेतबृद्धिभएको छ ।

यस्तै अघिल्लो आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा दुध उत्पादन २६.६५ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्षमा यो उत्पादन ३४.९८ प्रतिशतले बढेको थियो ।

मासु र अण्डा उत्पादन क्रमशः ८४.०३ प्रतिशतर ३८.०१ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा मासु उत्पादनमा १६.८० प्रतिशतले बृद्धि भएको थियो । सुर्खेत, दैलेख र सल्यान लगायतका जिल्लाहरुमा युवाहरुको व्यवसायिक पशुपालनप्रति बढेको आकर्षण र सरकारी अनुदानका कारण पशुजन्य उत्पादनमा बृद्धि भएको उल्लेख छ ।

माछा उत्पादनमा १९.४७ प्रतिशतले बढ्दा सबैभन्दा बढि जाजरकोटमा ६ सय मेट्रिक टन माछा उत्पादन भएको छ, भने सबैभन्दा कम जुम्लामा १.५० मेट्रिक टन रहेको छ । कुल खेती योग्य जमिन ८३ हजार ९ सय ७९ हेक्टरमध्ये ५९ हजार २ सय ८० हेक्टर क्षेत्रफलमा खेती गरिएको राष्ट्र बैंकको सर्वेक्षणमा उल्लेख छ । जिल्लागत तथ्यांक अनुसार कृषि उत्पादनको ठुलो हिस्सा सल्यान जिल्लाले ओगटेको छ ।

सल्यानमा कुल खाद्य तथा अन्य बाली उत्पादनमा १९.९९ प्रतिशत र तरकारी तथा वागवानी बालीमा २०.२४ प्रतिशत हिस्सा ओगटेको छ, भने सबैभन्दा कम हुम्लामा १.९४ प्रतिशत रहेको छ । प्रमुख फलफूलमध्ये सुन्तला उत्पादनमा १३.९० प्रतिशतले घटेको छ । यस्तै गत आर्थिक वर्षमा ३३.०१ प्रतिशतले बृद्धि भएको आँप यस वर्ष २८.५ प्रतिशतले बृद्धि भएको छ । केरा र स्याउको उत्पादन क्रमशः ९२.७२ प्रतिशत र ४८.५१ प्रतिशतले बढेकोमा यस वर्ष केरामा ४.३२ प्रतिशत र स्याउमा ३.३९ प्रतिशतले घटेको छ ।

यस्तै मह उत्पादनमा ५१.४३ प्रतिशतले बृद्धि हुँदा गत वर्ष ६.६७ प्रतिशतले बढेको थियो ।कुल खेती गरिएको ५९ हजार २ सय ८० हेक्टर जमिनमध्ये १५ हजार २ सय ९४ हेक्टर जमिनमा सिंजाई सुविधा पुगेको छ ।

गत आर्थिक वर्षभन्दा २०७७/०७८ मा सिंचित क्षेत्रफल ४.१७ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०७६/०७७ भन्दा समिक्षा गरिएको यो आर्थिक वर्षमा वार्षिक वजेट तथा प्रगतिमा उल्लेख्य सुधार र युवाहरुको व्यवसायिक कृषि खतीप्रतिको बढ्दो आकर्षणले कृषि र उत्पादनमा उल्लेख बृद्धि भएको छ । यद्यपी, खेती योग्य जमिन र खेती गरिएको क्षेत्रफलको तुलनामा सिंचाई सुविधामा विस्तार भने भएको देखिदैन ।

देशको कुल ग्राहस्थ उत्पादनमा अन्य प्रदेशको तुलनामा कणरलीको सबैभन्दा कम ४ प्रतिशत रहेको छ । युवापुस्ताको कृषिप्रतिको आकर्षणले कर्णालीमा व्यवसायिक कृषि र पशुपालनमा बृद्धि भइ रहेको कृषि विकास निर्देशनालय सुर्खेतका निर्देशक चित्रबहादुर रोकाया बताउँछन् । कोरोना भाईरस (कोभिड-१९) महामारीका कारण घर फर्केका युवाहरुले समेत कृषि उत्पादनलाई बढवा दिनमा सहयोग गरेको उनको भनाई छ ।

निर्देशनालयले व्यवसायिक कृषि तथा पशुपालनमा लाग्न चाहने युवा तथा कृषकहरुलाई विभिन्न प्राविधिक सल्लाह, कृषि औजारमा अनुदान लगायत विभिन्न कार्यक्रम मार्फत समट्दै आएको रोकायाको भनाई छ ।

प्रतिक्रिया