गाईबस्तुको बच्चा अगेनामा, सुत्केरी महिला र शिशूलाई गोठमा राख्ने कु–संस्कारलाई अन्त्य गरौँ : कार्यकारी प्रमुख थापा

गाईबस्तुको बच्चा अगेनामा, सुत्केरी महिला र शिशूलाई गोठमा राख्ने कु–संस्कारलाई अन्त्य गरौँ : कार्यकारी प्रमुख थापा

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका कार्यकारी प्रमुख हीरासिंह थापाले गाईबस्तुको बच्चा अगेनोमा सुत्केरी महिलालाई गोठमा राख्ने संस्कारलाई अन्त्य गर्नुपर्ने बताएका छन् । शनिवार दैलेख सदरमुकाममा आयोजित सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको १५ औँ संस्थागत सामाजिक तथा लैङ्गिक परिक्षणमा कार्यकारी प्रमुख थापाले यस्तो बताए ।

संस्थाका संस्थापक अध्यक्ष समेत रहेका थापाले भने ‘भैसीले पाडो जन्माउँछ, बाख्राले पाठो जन्माउँछ, गाईले बाच्छो जन्माउँछ, भर्खरै जन्मिने ती पाडो, पाठो बाच्छोलाई अगेनोमा राख्छौ, छुईछिटो गर्दैनौँ तर हाम्रै घरको बहिनी, भाउजु र आमाले बच्चा अर्थात शिशू जन्माउँदा गोठमा राख्छौ, अब यस्तो खालका कुसंस्कार र प्रर्थालाई अन्त्य गर्नैपर्छ,’ उनले भने । मान्छेलाई गाई भैसी र बाख्रा भन्दापनि तल्लो दर्जामा राख्ने कुसंस्कारलाई अन्त्य नगरी समाजको विकास हुन नसक्ने कार्यकारी प्रमुख थापाको भनाई थियो ।

उनले सोसेक नेपालले लागु औषध दुव्र्यसनी, बाल विवाह अन्त्यका लागि आफुहरुले काम गरिरहेको बताए । ‘हामीले ‘मर्यादित महिनावारी : हामी सबैको जिम्मेवारी’ भन्ने मुल नारालाई शिरमा राखेर संस्थाका कार्यक्रम तथा क्रियाकलापहरु सञ्चालन गरिरहेका छौँ,’ उनले भने । कार्यकारी प्रमुख थापाले विहेवारी २० वर्ष पारीको अभियानलाई सफल बनाउन आग्रह गरे । ‘बाल विवाह गर्दा महिलाहरु हिंसामा पर्ने गरेको देखिन्छ, अब बाल विवाहलाई अन्त्य गर्नुपर्छ,’ उनले भने ।

कार्यकारी प्रमुख थापाले संस्थाले संस्थागत एवं समुदायस्तरमा सुधार गर्नुपर्ने सवालमा आफुहरु प्रतिबद्ध रहेको बताए । अब आधारभुत तहमा मात्र नभई माध्यामिक तहमा समेत छात्रबृति स्वरुप शैक्षिक सामग्री उपलब्ध गराउन पहल गर्ने कार्यकारी प्रमुख थापाको भनाई छ । सोसेक नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजना र गुराँस गाउँपालिकाले जोखिममा रहेका बालबालिकाहरुलाई समेत सहयोग गरिरहेको कार्यकारी प्रमुख थापाले बताए ।

प्रतिक्रिया