कर्णालीका गैरसांसद मन्त्री लामाको कार्यकाल सकियो

कर्णालीका गैरसांसद मन्त्री लामाको कार्यकाल सकियो

सुर्खेत : कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छिरिङ डम्डोल (कार्चेन) लामाको कार्यकाल सोमबार सकिएको छ । प्रदेशसभा सदस्य नभई मन्त्री बनेका हुम्लाका लामा नेकपा माओवादी केन्द्रको सिफारिसमा २०७८ माघ २३ गते मन्त्रीमा नियुक्त भएका थिए ।

संवैधानिक व्यवस्था अनुसार प्रदेशसभा सदस्य नभई मन्त्री बनेकाहरु ६ महिनाभित्र प्रदेशसभा सदस्य हुनुपर्नेछ, अन्यता स्वतः पद रिक्त हुनेछ । सोही अनुसार लामाको कार्यकाल सोमबार सकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । मन्त्रीमा नियुक्त भएसँगै लामामाथि मूर्ति चोरीको आरोप लागेपछि सुरुमै उनी विवादित बनेका थिए ।

लामाको ठाउँमा कसलाई मन्त्री बनाउने भन्नेबारे माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको प्रमुख सचेतक कृष्णा शाहले बताइन् । ‘कसलाई मन्त्री बनाउँने भन्ने बारे छलफल चलिरहेको छ, अहिले दलकोे बैठक जारी छ,’  प्रमुख सचेतक शाहले भनिन् ।

माओवादी केन्द्रको संसदीय दलको बैठक जारी रहेको र बैठकमा माओवादीबाट प्रदेश सरकारमा सहभागी अरु दुई मन्त्रीमा पनि नयाँ अनुहार पठाउने बारेपनि छलफल चलेको प्रमुख सचेतक शाहले बताइन् ।कर्णाली सरकारमा अहिले तीन दलीय सत्ता गठबन्धन छ । नेपाली कांग्रेस नेतृत्वको सरकारमा माओवादी केन्द्रले जलस्रोत तथा उर्जा, अर्थ र उद्योग मन्त्रालय सम्हालेको छ ।

११ जना सांसद रहेको माओवादीमा दलका नेता महेन्द्रबहादुर शाही मुख्यमन्त्रीसहित ७ जना मन्त्री भइसकेका छन् । यस्तै पुष्पा घर्ती उपसभामुखको भूमिकामा छिन् । माओवादीबाट कर्णाली प्रदेशसभ सदस्य रहेका सांसदमध्ये वीरबहादुर शाही, कृष्णा शाह र रातो कामी मात्रै मन्त्री बन्न बाँकी रहेका छन् । दैलेखका धर्मराज रेग्मी र सुर्खेतका ठम्मर बिष्ट पनि माओवादी केन्द्रबाटै निर्वाचित भएका थिए तर एमालेमा प्रवेश गरेपछि उनीहरू अहिले सांसद छैनन् ।

प्रतिक्रिया