गरिबीका कारण उपचार गर्न नसक्दा घरमै बाँधिए बालक

गरिबीका कारण उपचार गर्न नसक्दा घरमै बाँधिए बालक

जाजरकोट, २३ भदौ । जाजरकोट भेरीमालिका नगरपालिका ५ गंगटियाका एक बालक उपचार नपाउँदा सात वर्ष देखि घरमै बन्दी अवस्थामा रहेको पाइएको छ । चरम गरिबीका कारण परिवारले उपचार गर्न नसक्दा मुकेश वि.क लाई घरमै बाँधेर राखिएको हो ।

जथाभावी हिडिदिने र जे पायो त्यही खाइदिन थालेपछि उपचारको साटो ७ वर्ष देखि घरमै बाँधेर राख्ने गरिएको उनका बुवा जरे लुहारले बताए ।
उनी न त बोल्न सक्छन् न त खान खान नै । १२ वर्षीय मुकेश मन लागेको बेला खोसेर खान्छन् तर दिएको बेला खाँदैनन् । उनले कहिले काँही माटो र आफ्नै दिसा समेत खाइदिन्छन् ।

घरमा एक्लै भएको बेला जथाभावी रुपमा हिडिदिदा परिवारलाई निकै सताएको हुनाले उनलाई बन्दी जस्तै गरेर दाम्लोले घरमा वाँधेर राख्ने गरिएको परिवारले बताएका छन् । उनका बाबु जरे भन्छन्, दाउरा बेचेर परिवार पाल्दै आएको छु कसरी छोराको उपचार गरुँ ।

राम्रो अस्पतालमा देखाउन पाएको भए छोरा सञ्चो हुन्थ्यो कि भन्ने बाबु लुहारलाई नलागेको पनि होइन तर घरको आर्थिक अवस्था निकै कमजोर भएपछि उपचारको लागि लाने आँट भएन । उनले भने, छोराको चिन्ताले साह्रै सताएको छ ।

जरेका दुई छोरा र एक छोरी छन् । छोरीको विवाह भैसक्यो जेठो छोरा गाँउकै विद्यालयमा १० कक्षामा पढ्छ । कान्छो भने अपाङ्ग जस्तै छन् । ती बालक शारीरिक रुपमा राम्रै रहेपनि मानसिक समस्याले गर्दा परिवारका अरु सदस्यलाई पनि चिन्ता थपिदिएका छन् ।

घरमा कोही नभए बाँधेर बाहिर जान्छौ उनका बाबु जरेले भने, के गर्ने गरिबले उपचारै नपाएर मर्नु पर्दो रहेछ । साँझ विहानको छाक टार्ने भन्ने समस्याले पिरोलिरहेको बेला बिरामी छोराको अस्पताल लिएर उपचार गर्ने त सपना मात्र भयो, हजुर उनले मलिन स्वरमा भने ।

प्रतिक्रिया