पेट्रोलियम पदार्थ उत्खननपछि आर्थिक विकासमा टेवा पुग्छ : सांसद शर्मा
दैलेख : प्रतिनीधि सभा सदस्य रविन्द्रराज शर्माले दैलेखको पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ उत्खननपछि नेपालको आर्थिक विकासमा टेवा पुग्ने बताएका छन् । दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि आवश्यक कामहरु भईरहेको सांसद शर्माको भनाई छ । शुक्रवार स्वर्गीय पत्रकार डेकेन्द्रराज थापाको १८ औँ स्मृति दिवसको अबसरमा आयोजित दैलेखको समृद्धि र संचार विषयक अन्तरक्रिया कार्यक्रममा सांसद शर्माले दैलेखमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भईसकेको उल्लेख गरे । नेपाल पत्रकार महासंघद्धारा आयोजित उक्त कार्यक्रममा सांसद शर्माले जिल्लाको विकास र समृद्धिका लागि सम्भावनाहरुको खोजी गरिनुपर्ने बताए ।
नेकपा एमाले दैलेखका अध्यक्ष समेत रहेका शर्माले जिल्लाको समग्र विकासका लागि पहिला पूर्वाधार विकास अनिवार्य रहेको औल्याए । जिल्लामा विभिन्न ठूला राष्ट्रिय गौरबका आयोजनाहरु सञ्चालन भईरहेको उल्लेख गर्दै सांसद शर्माले ती आयोजनाहरु निर्माणमा सुस्तता स्वीकार्य नहुने बताए । जिल्लामा पूर्वाधार विकासका लागि आएको बजेट कार्यान्वयन हुन नसक्नुको पछाडी निर्माण व्यवसायी पनि कारकतत्व रहेको सांसद शर्माले बताए । उनले आफु २०५४ मा नारायण नगरपालिकाको मेयर हुँदा पहिलो पटक नारायण क्याम्पस स्थापना गरेको बताउँदै अहिलेसम्म जिल्लाभर पाँच वटा क्याम्पस स्थापना भईसकेको बताए । ती क्याम्पससहित अन्य सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्न आफु तल्लिन रहने उनको भनाई छ । उनले जिल्लामा किसानका लागि बाँडिएको भैसी, बाख्रा तथा बंगुर खरिदमा अनियमितता भएको आशंका व्यक्त गरे ।
अर्को प्रसंगमा सांसद शर्माले स्वर्गीय पत्रकार डेकेन्द्रराज थापा अभिभावकत्व लिनसक्ने क्षमता भएको व्यक्ति रहेको बताए । उनले पत्रकार थापाको हत्यामा संलग्न दोषिलाई कानूनी कारबाहीको दायरामा ल्याएर पीडितलाई न्याय दिनुपर्ने औल्याए ।
महासंघ दैलेखका अध्यक्ष यज्ञराज थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा नारायण नगरका मेयर लोमन शर्मा, भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मिना कुमारी खड्का, काँग्रेस नेता यामबहादुर मल्ल, नेकपा एसका नेता मायाराम अधिकारी, गैसस महासंघका अध्यक्ष महारुप खत्री पत्रकारहरु विशाल सुनार, अविषेक अनुराग लगाएतले स्वर्गीय पत्रकार थापाको योगदानबारे चर्चा गरेका थिए । स्मृति दिवसको अबसरमा शुक्रवार विहान दैलेख सदरमुकामस्थित डेकेन्द्र चोकमा रहेको स्वर्गीय पत्रकार डेकेन्द्रराज थापाको शालिकमा माल्यारोपण र साँझ दिप प्रज्वलन गरिएको थियो ।
पत्रकार थापाको हत्या भएको १८ वर्ष पुग्यो
पत्रकार डेकेन्द्रराज थापाको हत्या भएको १८ वर्ष पुगेको छ । पत्रकार थापालाई २०६१ साउन २७ गते नौमुलेको द्धारीमा तत्कालिन माओवादी कार्यकर्ताहरुले हत्या गरेका थिए । २०६१ असार १२ गते अपहरण गरी डेढ महिनापछि २०६१ साउन २७ गते तत्कालिन नेकपा माओवादीद्वारा प्रेस विज्ञप्ति जारी भएपछि पत्रकार थापाको हत्या गरेको घटना सार्वजनिक भएको थियो ।
मरणासन्न हुने गरी कुटेपछि जीउँदै खाल्डोमा गाडेर हत्या गरेको ४ वर्षपछि पत्रकार थापाको अस्थिपंजर फेला परेको थियो । थापाको शव गाडिएको ठाउँ नौमूले गाउँपालिका–३ द्धारीबाट कंकाल निकाली दाहसंस्कारसँगै २०६५ भदौ १२ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा ९ जना विरुद्ध किटानी जाहेरी दिइएको थियो ।
न्याय प्राप्तीका लागि त्यसबेलादेखिहालसम्म नेपाल पत्रकार महासंघ, मानव अधिकारवादी संस्थाहरुले निरन्तर संघर्ष गरिरहेका छन् । थापाको हत्या भएको १८ वर्ष बितिसक्दा समेत हत्यामा संलग्न मुख्य दोषिहरु अझै पक्राउ पर्न नसकेको नेपाल पत्रकार महसंघ दैलेखका अध्यक्ष यज्ञराज थापाले बताए । स्थानीय प्रशासनको वेवास्ताका कारण न्यायालयले गरेको फैसलासँग जोडिएका मुख्य अभियुक्त अहिलेसम्म फरारको सूचीमा हुनु दुःखद् भएको बताए । उनले थापाको हत्यामा संग्लनमध्येका मुख्य अभियुक्तलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीमा लैजानुपर्ने माग गरे । मुख्य अभियुक्तलाई पक्राउ नगरिए दैलेखका पत्रकार पुनः आन्दोलन गर्न बाध्य हुने अध्यक्ष थापाको भनाई छ ।
पत्रकार थापाको हत्या गरेको १८ वर्ष पुग्दापनि हत्यामा संलग्न मुख्य अभियुक्त सहित ३ जना अझै दैलेख प्रहरीको फरार सूचीमा छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरिक्षक नरेश विकका अनुसार मुक्ति भन्ने बमबहादुर खड्का, भक्तिराम लामिछाने र केशव खड्का फरारको सूचीमा छन् ।
प्रतिक्रिया