सिंजा साम्राज्यको विरासत झल्काउन हाट बजार

सिंजा साम्राज्यको विरासत झल्काउन हाट बजार

जुम्ला : जुम्लाको सिंजा गाउँपालिकाले सिंजा साम्राज्यको विरासत जगाउने र स्थानीय उत्पादन बजारीकरण गर्न भदौ १ गतेदेखि हाट बजार चलाएको छ । यस्तो बजार हरेक महिनाको १ गते लगाउने गाउँपालिकाको तयारी छ ।

१८४६ सालभन्दा अघि सिंजा राज्य निकै शक्तिशाली थियो । त्यसै बेलादेखि यहाँ ‘हाट’ बजार लाग्थ्यो । दक्षिण भारत र उत्तर चीनलाई आकर्षण गर्ने गरी सिंजामा लाग्ने ‘हाट’ आर्थिक, सामाजिक, साँस्कृतिक, ऐतिहासिक र भू-राजनीतिक दृष्टिले निकै महत्वपूर्ण मानिन्थ्यो ।

पुरानो इतिहास झल्काउन र स्थानीयलाई आर्थिक रुपमा सबल पार्न अहिले पनि हाटको महत्वदेखि सुरु गरेको सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । उनले भने, ‘हाट कै कारण १२ औं शताब्दीदेखि १४ औं शताब्दीसम्म सिंजा खस राज्य आर्थिक रुपमा बलियो भएको इतिहास छ । उतिबेलाको ‘हाट’ बजार आजको प्रमुख व्यापारिक केन्द्र जस्तै हो ।’

धितालका अनुसार सिंजा साम्राज्य कुनै बेला कृषि उत्पादनमा बलियो मात्रै थिएन उत्तर र दक्षिणको बजारको केन्द्र पनि थियो । उनले अब स्थानीय उत्पादनलाई बढाउने, बजारीकरण बढाउने उद्देश्यका साथ हाटबजार सुरु गरिएको बताए ।

उपाध्यक्ष सितली रोकायाले हाटबजारमा सिंजामै बनेका राडीपाखी, तरकारी, मार्सीचामल, स्याउ, सिमी आउन थालेको बताइन् । उनले सिंजाले हाट बजार सुरू गरेपछि आर्थिक विषय मात्रै नभई संस्कृति र पुरानो सभ्यतासम्बन्धी खोजबिन पनि सुरू भएको छ ।

गाउँपालिकाको केन्द्र भएको स्थान नराकोटमा ‘हाट’ राखिएको छ । उनका अनुसार स्थानीय कलाकारले नेपाली पोसाकमा दिनभर देउडा, चुट्किला भनेर मनोरञ्जन दिने लिने गर्छन् ।

स्थानीय मनतिज बुढाले हाटबजारले सिंजामा पुरानो झल्को दिएको बताए । उनले भने, ‘अहिले सुरुवाती चरणमै भएका केही व्यवस्थित बनाउने काम भइरहेको छ ।’
स्थानीय उत्पादन बजारमा बिक्री गर्न ल्याएका सिंजा गाउँपालिका-३ की रेशा रानाले हाट बजार सुरू भएपछि नागरिकलाई केही राहत भएको बताइन् ।

स्थानीय भेडाको ऊनबाट उत्पादित लिउ र पाखी लिएर बजार आएका धनपति बुढाले हाटबजारले स्थानीय उत्पादनको बजारीकरण भइरहेको बताए । उनले भने, ‘केही मिठो सामग्री वा राम्रो वस्तु लिनुपरे ‘हाट’ मै जान्छु भन्ने प्रचलन आज पनि कर्णालीका दूर दराजका बस्तीहरूमा कायमै छ ।’

जुम्ला राज्यमाथि आक्रमण गरी गोर्खालीहरूले कब्जा गरेको २३३ वर्षपछि ‘हाट’ बजार पुनःस्थापना गरेको गाउँपालिकाको भनाइ छ । यो एउटा ऐतिहासिक र अर्थतन्त्रमा सघाउने दीर्घकालीन बजार विकासको कार्य हो ।

गाउँ सरकारले यसको प्रवर्द्धनमा जोड दिन्छ । हाटबजारमा सामान हेर्न तथा देउडा खेल्न जिल्ला बाहिरबाट समेत आउन थालेको उनको भनाइ छ ।

प्रतिक्रिया