रजत जयन्ती मनाउँदै सोसेक नेपाल
दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले रजत जयन्ती मनाउने भएको छ । संस्थाले आफ्नो २५ औँ वर्ष पुरा गरेको उपलक्ष्यमा रजत जयन्ती मनाउने भएको हो । यहि भाद्र ११ गते विशेष कार्यक्रम गरी संस्थाको २५ औँ साधारण सभा, वार्षिक उत्सव तथा रजत जयन्ती मनाउन लागिएको संस्थाका उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठले जानकारी दिए । कार्यक्रममा संस्थाका आजिवन सदस्य, साधारण सदस्य तथा सरोकारवाला निकाय र व्यक्तिहरुलाई आमन्त्रण गरिएको उपकार्यकारी निर्देशक श्रेष्ठको भनाई छ ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल वि.स. २०५४ भाद्र ११ गते विधिवत् स्थापना भएको थियो । ‘आत्मा साक्षी राखी मन बचन् र कर्मले सेवा गरौँ’ यो नै यस संस्थाको मुल नारा हो । गरीबीमुक्त, विभेद रहित, हिंसा रहित, न्यायमूलक र स्वस्थ एवं समृद्ध समाजको निर्माण सोसेक नेपालको परिकल्पना हो । संस्थाले एकीकृत विकासका लागि प्रतिबद्ध, समर्पित र सशक्त संस्थाको रुपमा परिचित छ ।
संस्थाले स्थापनाकालदेखि महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भई बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा महिला, बालबालिका, लोपोन्मूख जाती राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकासको अवधारणमा विभिन्न गतिविधि गर्दै आएको संस्थाका कार्यकारी प्रमुख तथा संस्थापक अध्यक्ष हीरासिंह थापाले बताए ।
महिला, बालबालिका, गरिब, अपाङ्गता भएका व्यक्ति, लोपोन्मुख राउटे समुदाय र दलित समुदाय संस्थाको लक्षित समुदाय हुन् । संस्थाले मुख्यगरी स्वास्थ्य, शिक्षा, जिविकोपार्जन, संरक्षण, जलबायू परिवर्तन र विपद् जोखिम न्यूनिकरणको क्षेत्रमा कर्णालीका विभिन्न जिल्ला तथा सुदुरपश्चिम प्रदेशमा विभिन्न क्रियाकलापहरु सञ्चालन गरिरहेको छ ।
संस्थाले महिला तथा बालबालिकाको संरक्षण सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ । बाल विवाहको अन्त्य र मर्यादित महिनावारीका लागि संस्थाले अभियानकै रुपमा विभिन्न क्रियाकलापहरु सञ्चालन गरिरहेको कार्यकारी प्रमुख तथा संस्थापक अध्यक्ष थापाले बताए ।
प्रतिक्रिया