नारायणका ३८ विद्यालयका शिक्षकलाई तालिम

नारायणका ३८ विद्यालयका शिक्षकलाई तालिम

दैलेख : जिल्लाको नारायण नगरपालिकाका ३८ विद्यालयका शिक्षकहरुलाई तालिम प्रदान गरिएको छ । कक्षा १ मा अध्यापन गर्ने शिक्षकहरुका लागि आधारभुत तह (कक्षा १–३) को एकीकृत ढाँचाको पाठ्यक्रममा आधारित क्षमता विकास तालिम प्रदान गरिएको हो । शिक्षकहरुलाई एक हप्ताको आबासिय तालिम प्रदान गरिएको हो । नेपालमा प्रारम्भिक बाल शिक्षा र विकासको सवलिकरणका लागि प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड कार्यान्वयन परियोजनाले तालिम प्रदान गरेको हो । युनिसेफ र नारायण नगरपालिकाको सहयोग, सेतो गुराँस बाल विकास सेवा दैलेखको साझेदारी तथा सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको आयोजनामा तालिम प्रदान गरिएको हो ।

यो तेस्रो चरणको तालिम हो । भदौ १ गतेबाट सुरु भएको तालिम मंगलवार सम्पन्न भएको सेतो गुराँस बाल विकास सेवा दैलेखका जिल्ला कार्यक्रम संयोजक तथा निर्देशक राधा मल्लले बताइन् । उनका अनुसार तालिममा कक्षा कोठामा लागु गर्ने बाल मैत्री वातावरण, बाल मैत्री खेल सामग्री निर्माण र प्रयोग, विद्यार्थी कार्यपुस्तक, शिक्षक निर्देशिका लगाएतका विषयमा छलफल अन्तरक्रिया तथा प्रयोगात्मक अभ्यास गरिएको छ । तालिममा यूनिसेफ नेपालका तालिम शिक्षा विशेषज्ञ डा. दिपु शाक्य, तथा सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा ललितपुरका कार्यक्रम/तालिम संयोजक शशि बिसीले प्रशिक्षण प्रदान गरेको बताइएको छ ।

सेतो गुराँस बाल विकास सेवा दैलेखका गिता रम्तेलका अध्यक्षतामा उद्घाटन भएको कार्यक्रममा नारायण नगरपालिकाका मेयर लोमन शर्माले नगरपालिका क्षेत्रका विद्यालयको शैक्षिक सुधारमा आफुहरु प्रतिबद्ध रहेको बताएका थिए । विद्यालयको भौतिक पूर्वाधार निर्माणमा नगरपालिकाले प्राथमिकता दिएको बताउँदै मेयर शर्माले विद्यालयको टिनको छानो हटाएर पक्की भवन निर्माणको अवधारणा अघि सारेको समेत जानकारी दिए । विद्यालयमा सरसफाई, बालबालिकाको बसाई व्यवस्थापन, बालमैत्री पूर्वाधार निर्माणसँगै शुद्ध खानेपानीको पर्याप्त व्यवस्थापनमा ध्यान दिइनुपर्ने उनको भनाई छ ।

उपमेयर तप्ताकुमारी थापाले विद्यालयहरुमा जंगफुड नियन्त्रण गरिनुपर्ने बताइन् । विद्यालयहरुमा बाल मैत्री पूर्वाधार निर्माणमा आफुहरु प्रतिबद्ध रहेको बताउँदै उपमेयर थापाले कुपोषित बालबालिकाको स्वास्थ्यप्रति विशेष ख्याल गरिनुपर्ने धारणा राखिन् । यसअघि नारायण नगरपालिका भित्रका ३८ वटा विद्यालयका प्रधानाध्यापकलाई दुई दिने तालिम प्रदान गरिएको थियो । यस्तै तीनै विद्यालय अन्तरगर्तका ३७ वटा बाल विकास केन्द्रका शिक्षकहरुलाई १० दिने तालिम प्रदान गरिएको थियो ।

 

 

प्रतिक्रिया