वीरेन्द्रनगरले लागू गर्‍याे आफ्नै पाठ्यक्रम

वीरेन्द्रनगरले लागू गर्‍याे आफ्नै पाठ्यक्रम

सुर्खेत : कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेर कार्यान्वयनमा ल्याएको छ । स्थानीय भाषा, संस्कृति, सीप, प्रविधि र ज्ञानलाई समेटेर तयार पाठ्यक्रम हामी र हाम्रो वीरेन्द्रनगर कार्यान्वयनमा ल्याएको हो । पहिलो चरणमा कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूका लागि ‘हामी र हाम्रो वीरेन्द्रनगर’ स्थानीय पाठ्यक्रम लागू गरेको छ । पाठ्यक्रममा नगरपालिकासहित जिल्ला परिचय, भौगोलिक अवस्था, नगरको जनजीवन, मौसम तथा महत्वपूर्ण ऐतिहासिक धार्मिक र पर्यटकीय क्षेत्रहरू समावेश छ ।

नगरभित्रका सबै विद्यालयमाहरूमा लागू गर्नेगरी सामुदायिक विद्यालयहरूमा नगरपालिकाले पाठ्यपुस्तक बुधबार सामुदायिक विद्यालयमा वितरण गर्न सुरु गरेको छ । स्थानीय पाठ्यक्रम लागूसँगै विद्यार्थीहरूमा स्थानीय वस्तुस्थितिको स्पष्ट जानकारी हुने र स्थानीय ज्ञान आर्जनमा टेवा पुग्ने विश्वास लिइएकाे छ ।

समुदायभित्र रहेका व्यक्तिको चाडपर्व, धर्म, संस्कार संस्कृति, प्राकृतिक स्रोत साधन, भूगोल, भाषा, भेषभूषा, पेसालगायतको दायरामा रहेर स्थानीय पाठ्यक्रम निर्माण गरिएको नगर प्रमुख मोहनमाया ढकालले जानकारी दिइन्। उनले संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार तथा दायित्व स्थानीय तहलाई सुम्पिएकाले पनि कार्यान्वयनको पाटोमा नगरपालिका लागेको उल्लेख गरिन् ।

‘लोकतन्त्रका मूल्यमान्यता अबलम्बन गर्न, असल, उदाहरणीय व्यक्तित्व निर्माण गर्न, मौलिक पहिचान र विविधताप्रति गर्व गर्न लागू गरिएको पाठ्यक्रमले सहयोग पुर्याउने अपेक्षा लिएका छौं,’ उनले भनिन्, ‘विगतमा नैतिक शिक्षा पढ्ने गरेका थियौं तर त्यो छुटेको छ । नैतिक शिक्षा समावेश र किताब सँगसँगै व्यवहारिक ज्ञानलाई पनि कसरी अघि बढाउने भन्ने विषयहरू पाठ्यक्रममा राखेका छौं ।’

वीरेन्द्रनगर नगरपालिकाभित्र ६० सामुदायिक विद्यालय र संस्थागत विद्यालय ८८ छन् । हाललाई सामुदायिक विद्यालयमा लागू गर्ने र विस्तारै संस्थागत विद्यालयमा पाठ्यक्रम कार्यान्वयन गर्ने गृहकार्यमा रहेको नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख धिरेन्द्रप्रसाद शर्माले जानकारी दिए ।

प्रतिक्रिया