जुम्लामा मार्सी धानमा रोग लागेपछि किसान समस्यामा

जुम्लामा मार्सी धानमा रोग लागेपछि किसान समस्यामा

जुम्ला :  जुम्लामा लगाएको मार्सी धानमा रोग लागेपछि किसान समस्यामा परेका छन्।

तातोपानी गाउँपालिका-४ गौत्तमवाडामा रहेको धानको ज्युलो (खेत) मा ब्लास्ट रोग लागेपछि त्यहाँका किसान चिन्तित भएका हुन्। ब्लास्टले धानको बोट नै मर्न थालेकाले छ।

असारमा रोपेको मार्सीमा ब्लास्ट देखिएपछि गौत्तमवाडाका किसान मर्कामा परेका छन्। धानमा ब्लास्ट लागेकाले कृषि विकास कार्यालय जुम्लामा समस्या लिएर आएको किसान भावना उपाध्यायले बताइन्।

उनले भनिन्, ‘५ जनाको धानखेतमा यस्तो समस्या देखिएको छ। सबैले काली मार्सी लगाएका थियौँ। एकजनाको ५ देखि १५ भारीसम्मका खेत छन् । काली मार्सीमा ब्लास्ट संक्रमण फैलिएकाले समयमै उपचार गरी बाली जोगाइदिन कृषि विकास कार्यालयलाई आग्रह गरेका छौं।’

तातोपानी-४ कै अर्की किसान जानकी गौतमले धानको गुभो खुइलिएर खैरो, सेतो हुँदै बोट नै मर्ने गरेको दुःखेसो गरिन्। उनले भनिन्, ‘हाम्रो पहिचानको रुपमा रहेको मुख्य बाली नै काली मार्सी हो। वेलैमा उपचार नभए हाम्रो परिश्रम नै खेर जान्छ।’

कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख गणेश अधिकारीका अनुसार प्राविधिकले धान खेतमै पुगेर निरीक्षण गरी किसानलाई परामर्श दिइरहेका छन् । धानबाली तत्काल निरीक्षण गरेर समयमै रोग नियन्त्रण गर्न आग्रह गरिएको छ ।

प्राविधिकले स्थलगत अध्ययन शुरु गरेको बताए। काली मार्सी धान जुम्लाको पहिचानसँग जोडिएको छ। कृषि विकास कार्यालयले रोग लागेको क्षेत्रमा हाल जाँच तथा परीक्षणका लागि प्राविधिक परिचालन गरी रोग नियन्त्रण जारी रहेको जनाएको छ ।

प्रतिक्रिया