मुगुमा धार्मिक मेला सोमबारदेखि सुरु
मुगु : मुगुमा गुरादेव, विजयगुरादेव लगायतका धार्मिक मेलाहरू सोमबारदेखि सुरु भएका छन् । ऐतिहासिक धार्मिक महत्त्व राख्ने मेलाहरू कोरोनाका कारण अघिल्ला दुई वर्ष हुन सकेका थिएनन् । यस पटक मेला सुरु भएपछि जिल्लाका गाउँ बस्तीमा चहलपहल सुरु भएको छ।
जिल्लाको छायाँनाथ रारा नगरपालिका, सोरूँ गाउँपालिका र खत्याड गाउँपालिकामा भदौ १९ गते नवमीका दिनबाट भदौ पुर्णिामा सम्म गुरादेव , विजय गुराको परम्परागत धामी धार्मिक मेलाहरू सुरु भएका हुन् । धार्मिक आस्थाका जानकारका अनुसार भदौ नवमीका दिनबाट औपचारिक रूपमा मेला सुरु हुन्छन् ।
धार्मिक अगुवा तथा गुरुदेवताका धामी जुन बहादुर ऐडीका अनुसार जिल्लाका छायाँनाथ रारा नगरपालिका, सोरूँ गाउँपालिका र खत्याड गाउँपालिकामा औपचारिक रूपमा मेलाहरू सुरु भएका छन् । गुरादेवता सहितका देवताका पूजाआजा सुरुवात गरिएको बताए । यस क्षेत्रमा गुरा, सुमईजु, विजयगुरा, कालागुरा, हटीनाथ, कङ्काल्या, केशिनाथ, कालनाथ, लाटो सुमईजु सहितका दर्जनौँ देउताको पूजाआजा हुने गर्छ उनले भने।
देवताका पुजारी (खाबा) का अनुसार यहाँका समुदायको देवताले सुख दु ःखमा साथ दिने जनविश्वास भएकाले हरेक गाउँमा हिन्दुधर्म मान्यको घरमा कुलदेवताको पूजा गर्ने चलन छ । विभिन्न तिथिमा विभिन्न देवताको पूजा गरिदै आउने चलनले यतिवेला मुगुका धार्मिक स्थानमा मानिसहरूको भिड लाग्न सुरु भएको छ ।
धार्मिक आस्थाअनुसार मन्दिर तथा थान बनाएर पूजा गर्ने, मन्दिरलाई नयाँ ध्वजापताले सजाउने काम गरिन्छ । पुजाको दिनमा स्थानीयले रातभरि देउडा खेली परिकारहरू मनाउने चलन रहेको सोरूँ गाउँपालिका -५ निवासी तथा बिजयगुरा देवताका पुजारी दानबहादुर शाहीले बताए । उहाँका अनुसार भदौ पूर्णिमासम्म विभिन्न पूजाआजा हुने गर्छन् ।
पीडित पक्षले न्यायका लागि गुरादेवता सँग भाकल माग गरेमा गुरादेवताले न्याय दिलाउने जनविश्वासले यहाँका परम्परागत सहित विभिन्न धार्मिक सभ्यताको न्याय दिने देवता मानिन्छ । यसलाई पर्यटकीय महत्त्वको बारेमा अझै विकास गर्न सकिएको छैन । यो समयमा मेला हेर्नलाई जिल्लाका विभिन बस्ती बाट आन्तरिक पर्यटक मेला हेर्न दर्जनौँ भक्तजन आउने गरेका छन् स्थानीय अमरबहादुर कार्कीले भने ।
प्रतिक्रिया