चिनोको माग बढेपछि कालिकोटका किसान खेतीतर्फ आकर्षित

चिनोको माग बढेपछि कालिकोटका किसान खेतीतर्फ आकर्षित

कालीकोट :  कालीकोटका किसानले फेरि चिनो खेती गर्न थालेका छन् । केही वर्षदेखि लोप हुँदै गएको चिनो खेती पछिल्लो समय माग बढेपछि पुनः सुरु हुन थालेको हो ।

कालीकोट जिल्ला बाहिरबाट चिनोको माग बढेपछि किसान यसको खेतीतर्फ आकर्षित भएका हुन् । तीन दशक पहिले कर्णालीमा धेरै मात्रामा उत्पादन हुने रैथाने बाली चिनो, कागुनो, फापर, कोदो पछिलो समय लोप हुने अवस्थामा पुगेको थियो ।

चिनो राम्रो फल्ने पलाँता गाउँपालिकाको अलभामा पनि यसको खेती सुरु भएको छ । खाँडाचक्र नगरपालिका–११, बरातुका किसान हरिचन्द्र गिरीले यो वर्ष झन्डै एक रोपनीमा चिनो खेती गरेका छन् ।

उनले लगाएको चिनोको उत्पादन पनि राम्रो छ । कर्णालीको रैथाने बाली चिनोकोे बजारमा माग बढ्न थालेपछि आफू पुनः चिनो खेतीमा लागेको उनले बताए ।

यस जिल्लाको सुन्तला गाउँ भनेर चिनिने बराँतुमा चिनो र कागुनोको व्यापक रूपमा खेती हुने भए पनि पछिल्लो समय हराउँदै गएको थियो । द्वन्द्वको समयमा जनशक्तिको अभाव हुँदा चिनोको खेती गर्न छोडिएको थियो तर अहिले माग पूरा गर्न सक्ने अवस्था छैन ।

पाखोबारीमा फल्ने चिनोका लागि खासै दुःख गर्नुपर्दैन । कर्णालीमा घुम्न आउने पर्यटकले समेत चिनोको परिकार निकै रुचाउने स्थानीयवासी बताउँछन् । चिनोको भातभन्दा खीर झनै स्वादिलो हुन्छ ।

पलाँता गाउँपालिका–२ का गोरेबहादुर बमले पहिला चिनो बर्दिया, राजापुर, कैलालीको चिसापानीसम्म लिएर बिक्री गर्ने गरेको सुनाए । यताबाट चिनो, कागुनोका साथै घिउ लिएर जाने तथा उताबाट मट्टीतेल, लुगाफाटो, नुन लिएर आउने गरेको उनले स्मरण गरे ।

चिनो कर्णालीका हिमाली जिल्लामा फल्ने एक प्रकारको खाद्य बाली हो । यो साबिकको कर्णाली कालीकोट, जुम्ला, मुगु, हुम्ला, डोल्पा जिल्लामा फल्छ । समुद्र सतहबाट एक हजार पाँच सयदेखि तीन हजार मिटरको उचाइमा चिनो खेती राम्रो हुने गरेको छ ।

स्थानीय जीवन गिरीले सुर्खेत, नेपालगञ्ज र काठमाडौँको बजारमा प्रतिकेजी पाँच सय रुपियाँदेखि एक हजार रुपियाँसम्ममा चिनो बेच्ने गरेको बताए ।

अर्गानिक खाद्य वस्तुसँगै चिनो औषधि पनि भएको बताए । उनले मधुमेह, युरिक एसिड भएका बिरामीलाई सहज बनाउने औषधिसमेत चिनो, कागुनो र कोदो भएको सुनाए ।

प्रतिक्रिया