कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामूहिक राजीनामा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामूहिक राजीनामा

जुम्ला : जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा बन्द भएको छ। त्यहाँका चिकित्सकसहित स्वास्थ्यकर्मीले बुधबार सामूहिक राजीनामा घोषणा गरेका छन्। ६० जनाले उपकुलपतिसमक्ष लिखित राजीनामा परेको बालरोग विशेषज्ञ डा.कमल थानीले बताए।

‘यस्तो विषम परिस्थिति र शान्ति सुरक्षाको प्रत्याभूति नभएको पृष्ठभूमिमा हामी सेवा दिन असमर्थ छौं’, सामूहिक राजीनामा सम्बन्धमा भनेर लेखिएको छ, ‘कानुनी राज्यको आभास नभएकाले र विरोधको नयाँ स्वरूपअनुसार हामी सम्पूर्ण स्वास्थ्यकर्मीहरू आजकै मितिबाट सामूहिक राजीनामा पेस गरेका छौं।’ उनीहरूले यसको बोधार्थ प्रमुख जिल्ला अधिकारीलाई दिएका छन्।

प्रतिष्ठानमै कार्यरत डा. करण साह र ओपीडी सहायक धनबहादुर शाहीबीचको झगडाले उग्ररूप लिएपछि कर्णालीका बिरामीले उपचार नपाउने अवस्था आएको हो। यही भदौ २ गते ओपीडी सहायक शाही ६ वर्षीय छोराको उपचार गर्न प्रतिष्ठानमा पुगेका थिए। उनका छोराको टाउकोमा चोट लागेका कारण टाँका लगाइएको थियो। त्यही टाँका खोलेर विद्यालय पठाउने तयारी थियो।

ओपीडी नखुलेकाले शाहीले आकस्मिक कक्षमा डा. साहसँग टाँका काटिदिन आग्रह गरेका थिए। डा. साहले भने आकस्मिक कक्षमा त्यो काम नहुने बरु ओपीडी खुलेपछि आउन भनेको जनाइएको छ। छोराको उपचार नगरेको भन्दै कर्मचारी शाहीले डा. साहमाथि हातपात गरेका थिए।

डाक्टरमाथि हातपात गरी उल्टै डाक्टरविरुद्ध नै पक्राउ पुर्जी जारी गरिएको भन्दै त्यसको विरोधमा स्वास्थ्यकर्मीले मंगलबारदेखि ओपीडी सेवा रोकेका थिए। नागरिक समाजका अगुवा गोरख थापाले अस्पतालकै डाक्टर र कर्मचारीको झगडाले सेवा नै बन्द हुन् दुखद् भएको बताए।

बालहिंसा गरेको जाहेरी डा. साहविरुद्ध गत आइतबार जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको थियो। प्रहरीले चलाएको प्रक्रियाअनुसार जिल्ला अदालतले पक्राउ गर्न पुर्जी जारी गरेको छ। तर, साह जिल्लाबाहिर भएका कारण उनलाई पक्राउ गर्न नसकिएको प्रहरी बताउँछ। प्रतिष्ठानले छानबिन समिति गठन गरी शाहीलाई ४५ दिनका लागि निलम्बन गरेको छ। ‘छानबिन समितिले काम गर्दै थियो। दोषीलाई कारबाही गर्न हामी तयार नै थियौं’, उपकुलपति डा. मंगल रावलले भने, ‘तर, बीचमै डाक्टरलाई नै पक्राउ पुर्जी जारी भयो। यसकै विरोधमा डाक्टर र स्वास्थ्यकर्मीले आकस्मिकबाहेक काम गर्न मानेका छैनन्।’

डा. कमल पन्थीले डाक्टरमाथि अस्पतालमै हातपात भएको र उल्टै पक्राउ गर्न खोजिएकाले न्यायका लागि आन्दोलन गरेको बताए। प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले प्रतिष्ठानको उपचार सेवा नियमित बनाउन प्रयास भइरहेको बताइन्।

डाक्टर र कर्मचारीबीच विवादपछि अस्पतालका निर्देशक डा. पुजन रोकायाको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको छ। तर, नाबालकलाई प्रयोग गरेर डाक्टरलाई फसाउन खोजिएकाले मुद्दा फिर्ता नहुँदासम्म काम नगर्ने र सेवा दिन नसक्ने अडानमा स्वास्थ्यकर्मी छन्। ‘यसै घटनालाई निहुँ बनाएर अतिरञ्जित एवं हास्यास्पद तरिकाले डा. करणमाथि नै झुटो मुद्दा दायर गरी पक्राउ पुर्जीसमेत जारी भएको र त्यसको विरोधमा शान्तिपूर्ण तरिकाले आन्दोलनरत यस प्रतिष्ठानका सम्पूर्ण स्वास्थ्यकर्मीहरूमाथि स्थानीय अराजक केही व्यक्तिले अबोध नाबालकहरूलाई प्रयोग गरी मुठभेडको अवस्था सिर्जना गर्ने प्रयास भएको पनि जानकारी गराउन चाहन्छौं’, राजीनामा पत्रमा लेखिएको छ।

प्रतिक्रिया