आठ हजारभन्दा बढीमा डेंगु पुष्टि, पाँच जनाको मृत्यु

आठ हजारभन्दा बढीमा डेंगु पुष्टि, पाँच जनाको मृत्यु

काठमाडौं : पछिल्लो डेढ महिनामा पाँच जना डेंगु सङ्क्रमितको मृत्यु भएको छ । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत कीटजन्य रोग प्रमुख डा. गोकर्ण दाहालले यस अवधिमा डेंगु सङ्क्रमणका कारण पाँच जनाको मृत्यु भएको बताए ।

पाँच जना मध्ये तीनजनाको मृत्यु डेंगुकै कारण भए पनि मृतक अन्य दुई जनाको मृत्यु डेंगुका साथै स्क्रब टाईफस र कडा खालको निमोनियाले भएको उनले जानकारी दिए । महाशाखामा अन्य दुई जना पनि डेंगुको कारणले मृत्यु भएको भन्ने प्रतिवेदन प्राप्त भएकाले अनुसन्धान भइरहेको उनले जानकारी दिए । उनका अनुसार मृत्यु भएकामध्ये कैलाली, कान्ति, बाँकेस्थित भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज र मेडिसिटी अस्पतालमा एक ÷एक जनाको मृत्यु भएको छ । कोभिड १९ सङ्क्रमण, भाइरल ज्वरो र डेंगु एकैसाथ देखिएकाले बेवास्ताका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ ।

आठ हजारभन्दा बढीमा डेंगु पुष्टि

पछिल्लो केही महिनादेखि काठमाडौं र ललितपुरलगायत देशभर डेंगु सङ्क्रमण बढ्दो क्रममा छ । हालसम्म ७५ जिल्लाबाट आठ हजार ३२७ जना डेंगु सङ्क्रमित पुष्टि भइसकेको छ ।
डेंगु सबैभन्दा बढी बागमती प्रदेशमा ६ हजार २०५ जना, लुम्बिनी प्रदेशमा १ हजार २८४, सुदूरपश्चिम प्रदेशमा २०६, प्रदेश १ मा २८२, मधेस प्रदेशमा १४४, गण्डकी प्रदेशमा १५०, कर्णाली प्रदेशमा ५६ जनामा डेंगु पुष्टि भएको छ । डेंगु सङ्क्रमण हाल दैनिक बढिरहेको समयमा मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने हुँदा अझै केही समय सतर्क रहन चिकित्सकको सुझाव छ ।

डेंगु भनेको के हो ?

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. बिमल चालिसेका अनुसार डेंगुको ज्वरो एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । एडिस जातका लामखुट्टेले घाम उदाएको २ घण्टा पछाडि र घाम अस्ताउनुभन्दा २ घण्टा अगाडि यो लामखुट्टे बढी सक्रिय हुने चिकित्सक बताउँछन् ।

ज्वरो आउने, मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउँको दुख्नु, शरीरमा रातो बिमिरा आउनु वाकवाकी लाग्नु, वान्ता हुनु डेंगुका प्रमुख लक्षण हुन् । लगातार वान्ता हुने, वान्तामा रगत देखा पर्ने, धेरै पेट दुख्ने, श्वासप्रश्वासमा समस्या आउने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव भई बेहोस हुने भएकाले डेंगु भएका मानिसलाई हेलचेक्र्याइँ नगर्न चिकित्सकको सुझाव छ । उच्च ज्वरो कम गर्न पारासिटामोल खाने, पानी तथा झोलिलो तथा पोषिलो खानेकुरा प्रशस्त मात्रामा खाने र आराम गर्ने डेंगुको उपचार हो ।

प्रतिक्रिया