बाल अधिकारको संरक्षण र संवद्र्धनमा एकताबद्ध हुन आह्वान

बाल अधिकारको संरक्षण र संवद्र्धनमा एकताबद्ध हुन आह्वान

दैलेख : बाल अधिकारको संरक्षण र संवद्र्धनमा एकताबद्ध हुन आह्वान गरिएको छ । राष्ट्रिय बाल दिवसको अबसरमा सोसेक नेपालले उक्त आह्वान गरेको हो । दिवसको अबसरमा शुभकामना सन्देश जारी गर्दै संस्थाले उक्त आह्वान गरिएको छ । यस वर्ष ‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने मूल नाराका राष्ट्रिय बाल दिवस भव्यताका साथ मनाइदैछ ।

संस्थाका कार्यकारी प्रमुख एवम् निवर्तमान अध्यक्ष हीरासिंह थापाद्धारा हस्ताक्षरित सन्देशमा भनिएको छ, ‘बालबालिका सम्बन्धी ऐन, २०७५ ले व्यवस्था गरे अनुरुप बाल अधिकारको संरक्षण र संवद्र्धनका कार्यहरूमा एकताबद्ध हुन समेत आह्वान गर्दै दिवसलाई भव्य र सभ्य रुपमा मनाउन सम्बन्धित सबैमा हार्दिक आव्हान गर्दछौं ।’

संस्थाले देश तथा विदेशमा रहेका सम्पूर्ण बालबालिका, आम अभिभावक तथा बाल अधिकारको संरक्षण र संवद्र्धनका कार्यमा क्रियाशिल सबैमा हार्दिक शुभकामना व्यक्त गरेको छ । शुभकामना सन्देशमा नेपालमा आजपनि बालविवाहको दरमा कमी आउन नसकेको, बालविवाहपछि बालबालिकाहरुले शारीरिक तथा मानसिक रोगको शिकार, बालविवाहपछि स्वास्थ्य र शिक्षाको अधिकारसमेत गुमाउने, घरमा विभेद र घरेलु हिंसा सहन बाध्य हुनुपर्ने, कामको बोझ बोक्नुपर्ने, बहुविवाह लगाएतका समस्या झेलिरहेको उल्लेख गरिएको छ ।

संस्थाले ‘विहेवारी : २० वर्ष पारी’ को नारासहित बाल विवाहलाई अन्त्य गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट पहलकदमी चाल्न समेत आह्वान गरेको छ । सन्देशमा भनिएको छ ‘बालविवाहसँगै बालबालिकाहरु बाल श्रमिकको चपेटामा छन्, विभिन्न कारणले बाल श्रममा होमिन बाध्य भएका बालबालिकाहरुको उद्धार, राहत, उचित शिक्षा र पुर्नस्थापनाको सवालमा तीनै तहका सरकार गम्भिर भईदिन समेत सोसेक नेपाल आग्रह गर्दछ ।’ लोपोन्मुख राउटे समुदायका बालबालिकाहरु अशिक्षा, कुपोषण र अज्ञानतामा बाँच्न बाध्य रहेको उल्लेख गरिएको सन्देशमा राउटे समुदायका बालबालिकाहरुलाई अनौपचारिक शिक्षासँगै स्वास्थ्य उपचार तथा पोषणयुक्त खाननिको व्यवस्थापनका लागि सरकारसँग माग गरिएको छ ।

संस्थाले बाल हिंसा तथा दुव्र्यवहार एवं जोखिम अवस्थामा परेका बालबालिकाको आपत्तकालिन उद्धार, राहत अल्पकालिन आश्रय र पुनस्थापनको काम गरिरहेको छ । संस्थाले दैलेखवाट दैलेख र कालिकोटवाट हुम्ला, जुम्मा, मुगु, डोल्पा र कालिकोट जिल्ला कभर हुने गरी बाल हेल्पलाइन १०९८ र दैलेख र कालिकोटमा महिला र बालबालिका केन्द्र (सेल्टर) सञ्चालन गरिरहेको छ । बाल विवाह विरुद्धको अभियान विहेवारी २० वर्ष पारि समेत सञ्चालन गरिरहेका संस्थाले यी कामहरुलाई निरन्तर र प्रभावकारी रुपमा सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

नेपालले बालअधिकार सम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेको थियो । बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया